Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेमौसमी वर्षाले खेतीबालीमा क्षति, सोलुखुम्बुका कृषक चिन्तित

बेमौसमी वर्षाले खेतीबालीमा क्षति, सोलुखुम्बुका कृषक चिन्तित


सोलुखुम्बु । केही दिनयता निरन्तर परेको अविरल वर्षाले खेतीबालीमा क्षति पु-याएपछि सोलुखुम्बुसहित देशभरिका कृषक चिन्तित बनेका छन् । जिल्लामा हुने मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले क्षति पु-याएपछि खाद्यसंकट निम्तिन सक्ने चिन्ताले कृषकलाई पोल्न थालेको छ ।

भित्र्याउने बेलाको कोदो र धान हावाले ढालेपछि यहाँका कृषक दिनमा भोक र रातमा निन्द्रा समेत नलाग्ने बताउँछन् । थुलुङ दुधकोशी गाउँपालिका–६ का कृषक तुलबहादुर कार्कीले करिब १२ रोपनी क्षेत्रफलमा लगाएको धानबाली हावाहुरीका कारण भित्र्याउन नमिल्ने गरी नष्ट गरेको बताए ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार गत वर्ष जिल्लामा एक हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमा तीन हजार छ सय मेट्रिकटन धान उत्पादन भएको थियो । तर यो वर्ष १० प्रतिशतले उत्पादनमा गिरावट आउने अनुमान रहेको ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी कुलबहादुर राईले बताए । जिल्लाको नेचा सल्यान, थुलुङदुधकोशी र सोताङको तल्लो क्षेत्रमा धान खेती हुँदै आएको छ । तल्लो क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत नै धान रहेको भए पनि एकै रातमा स्वाहा हुँदा मन पोल्ने गरेको नेचासल्यान गाउँपाकिला–३ का मात्रिका कटेलले बताए ।

जिल्लाको मध्य भागका कृषकको मुख्य अन्नबालीमध्ये कोदो पनि पर्छ । तर सोही कोदोमा हावाहुरी र पानीले क्षति पु-याउँदा उत्पादन घट्ने मात्र नभई घरपरिवार चलाउन गाह्रो हुने थुलुङ दुधकोशी गाउँपालिका–७ का बासुदेब खत्रीको गुनासो छ । जिल्लामा गत वर्ष दुई हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा दुई हजार आठ सय ३० मेट्रिकटन कोदो उत्पादन भएको भए पनि यस वर्ष १० प्रतिशतभन्दा बढीले घट्ने कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ ।

निरन्तरको वर्षासँगैको हावाहुरीका कारण के–कति अन्नबालीमा क्षति पुग्यो भन्ने यकिन विवरण भने स्थानीय सरकारदेखि ज्ञान केन्द्रसँग पनि छैन । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सबै स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन परिपत्र गरेको भए पनि प्राप्त भएको छैन । विवरण संकलन भए पनि क्षतिपूर्तिसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नभएको उनको भनाइ छ । विभिन्न समयमा राहत तथा उद्धारमा सक्रियता जनाउने स्थानीय सरकार समेत यस पटकको क्षति विवरण संकलनमा भने सुस्ताएको छ ।

अधिकारसम्पन्न सरकारसँग राहत दिनेदेखि सोहीअनुसारको कार्यक्रम सञ्चालन गर्नसक्ने क्षमता भए पनि नीतिगत व्यवस्था नभएको नेचासल्यान गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रीको भनाइ छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार स्थानीय सरकारले क्षतिको विवरण संकलन गरी सोहीअनुसार राहत तथा सहयोगको प्याकेज ल्याउनुपर्ने हुन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया