Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजिरी च्याम्पियनसिप हुने

जिरी च्याम्पियनसिप हुने


दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा बागमती प्रदेशभित्रका गाउँपालिका सहभागी हुनेगरी गाउँपालिकास्तरीय जिरी च्याम्पियनसिप २०७८ प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद क्षेत्रको विकासमा सक्रिय रहेको संस्था युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिका र दोलखा समाज जापानको समन्वयमा भलिबल खेल र म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए ।

गत वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्दै आएको युवा सञ्जाल जिरीले यस वर्ष पनि बागमती प्रदेशभित्र रहेका अन्तरपालिका भलिबल तथा खुला म्याराथन प्रतियोगिता गर्न लागेको हो । खेल आगामी कात्तिक १२ गतेदेखि १५ गतेसम्म चल्ने खेल आयोजक समितिले जनाएको छ ।

खेलमा बागमती प्रदेशभित्रका सबै गाउँपालिकाले भाग लिन पाउनेछन् । भलिबल खेल लिगकम नकआउटको आधारमा खेलाइने खेल आयोजकले जनाएको छ । पर्यटकीय हिसाबले अब्बल सम्भावना बोकेको जिरीलाई खेलकुद क्षेत्रमा विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको हो । जिरी नगरपालिकाको पर्यटन तथा खेलकुद विकास, वातावरण संरक्षण एवं सुशासनको क्षेत्रमा युवा सञ्जाल जिरी क्रियाशीला रहेको छ । सञ्जालले यसअघि पनि दोलखा जिल्लाकै सर्वाधिक धनराशि भएको जिरी च्याम्पियनसीप, राष्ट्रिय हुचिल तथा लाटोकोसेरो उत्सव, जिरी स्ट्रिट फुड फेस्टिभललगायतका कार्यक्रम गरिसकेको छ ।

कोरोना भाइरसको महामारीले विगत दुई वर्षदेखि थलिएको खेलकुद क्षेत्रलाई दोलखामा चलयमान बनाउन पनि यो खेल महत्वपूर्ण भएको आयोजक समितिले जनाएको छ । कोरोनाले ठप्प बनेको जिरीको पर्यटन, ब्यापार व्यवसायलाई पुनः चहलपहल र पुरानो लयमा फर्काउन जिरी च्याम्पियनसीपले थप ऊर्जा थप्ने आयोजक समितिको विश्वास छ ।

समितिले भलिबल खेलतर्फा प्रथम पुरस्कार नगद एक लाख, द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार र सान्त्वना पुरस्कार १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने घोषणा गरेको छ । त्यसैगरी म्याराथानतर्फ प्रथम पुरस्कार नगद २० हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया