Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्ग सुचारु नहुँदा यात्रुलाई सास्ती

सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्ग सुचारु नहुँदा यात्रुलाई सास्ती

जहाजमा जान पार्टीको सिफारिस चाहिने


बझाङ । बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक सुचारु नहुँदा यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन् । बझाङ जिल्लामा सुचारु हुँदै आएको समिट एयरको जहाजमा जान पनि राजनीतिक पार्टीको सिफारिस चाहिने स्थानीयले आरोप लगाएका छन् ।

केही दिनअघि मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले तथा अर्थमन्त्री जनार्दन शर्मा बझाङमा आउँदा यातायातको मुख्य समस्या देखिएकाले नेपाल नेपाल वायुसेवा निगमको जहाजले उडान भर्ने बताएका थिए । उनीहरूले बाचा दिएपछि तीन दिनभित्र निगमले उडान भर्न सफल भए पनि जहाजमा टिकट काट्ने सिस्टम अस्तव्यस्त भएको कारणले निकै दुख भोक्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय अर्थजङ शाहीका अनुसार हजारौँ यात्रु अलपत्र परी सदरमुककाम चैनपुर नजिकैको होटेल पसलमा डेरागरी बसेका छन् । राजनीतिक पहुँच र कर्मचारीसँग चिनजान भएकालाई मात्र टिकट वितरण गरिएको जिल्लामा व्यापक गुनासो आएको दिपक खड्काले बताए ।

यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने दशैँ तिहारको बेला बाहिरबाट दशै मनाउँन आएका मानिसहरूको संख्या धेरै भएको र स्थलमार्ग अवरुद्ध भएको कारण केही समस्या भएको बताए । साथै कर्मचारी प्रत्याप्त नहुँदा पनि समस्या परेको उनको भनाइ छ । सुदूपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको हो ।

सदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले डोटी र बझाङमा पहिरोका कारण सडक पूर्णरूपमा ठप्प रहेको जानकारी दिए । उनका अनुसार केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ को रडुवाखोला र गजरौलाको बीच भागमा करिब एक सय मिटर सडक पहिरोले भासिएकाले यातायात सेवा पूर्ण रूपमा बन्द रहेको छ । सडक अवरुद्ध हुँदा डडेल्धुरासँगै तराईका कैलाली, कञ्चनपुरसहित अन्य पहाडी जिल्लासँग डोटीको यातायात सम्पर्क टुटेको छ । अहिले सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले बढी प्रभावित बझाङमा पनि पाँच ठाउँमा जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा सञ्चालन हुन सकेको छैन । जिल्लाको देउरा, नारिगौडा, छविसपाथिभरा गाउँपालिका–१ को जालीबगर, मौरीबगर र जयपृथ्वी नगरपालिका–७ को कचाली खोलामा सडक अवरुद्ध बनेको प्रहरी उपरीक्षक गौतमले बताए । उनका अनुसार दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पनि करिब १२ मिटर सडक भासिएको छ भने अहिले खुलाउने कार्य जारी छ ।

गत असारमा परेको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध साँफे–मार्तडी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । पहिरोले अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्डअन्तर्गतको अम्कोट क्षेत्रमा पुनः पहिरो जाँदा सडक खुल्न समय लाग्ने देखिएको छ । सोही सडकखण्डको बाजुगाड र बूढीगंगा नगरपालिका–३ को ताप्रिसेरामा समेत पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायता सेवा पूर्ण रूपमा बन्द भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार सडक खुलाउन पहिरो पन्साउने काम भइरहेको छ तर यातायात सेवा सञ्चालनमा आउन अझै केही समय लाग्न सक्छ । लगातारको वर्षापछि सडक सञ्जाल अवरुद्ध हुँदा पहाडी जिल्लामा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ भने जटिल प्रकृतिका बिरामीलाई अस्पतालसम्म पु-याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया