Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘अनलाइन सेवा दिने थुलुङ दुधकोशी गाउँपालिका देशकै पहिलो’

‘अनलाइन सेवा दिने थुलुङ दुधकोशी गाउँपालिका देशकै पहिलो’


सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्ने देशकै पहिलो गाउँपालिका थुलुङदुधकोशी बनेको दाबी गरेका छन् । विद्युतीय राजस्व भुक्तानी प्रणालीको आइतबार शुभारम्भ गर्दै अध्यक्ष राईले यस प्रणालीबाट पालिकावासीलाई छिटो, छरितो र सर्वसुलभ सेवा प्रवाह गर्न सकिने बताए । विगतमा गाउँपालिकाको कार्यालयमै आएर कर तिर्ने गरेका नागरिकहरूले अब घरमै बसेर करदाता पोर्टलमार्फत तिर्न सक्नेछन् ।

सुरुवातमा यस करदाता पोर्टलसम्बन्धी स्थानीय नागरिकहरू अनभिज्ञ हुने भएकाले एक–आपसमा ज्ञान बाँडेर अगाडि बढ्नुपर्ने अध्यक्ष राईको भनाइ छ । करदाता पोर्टलमार्फत गाउँपालिकाको मातहतमा करदाताको रूपमा दर्ता भएको सेवाग्राहीले ईन्टरनेटको पहुँचमार्फत आफ्नो प्रयोगकर्ताको नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट आफ्नो व्यक्तिगत विवरण, सम्पति विवरण, व्यवसायको विवरण र कर तिरेको विवरण हेर्न मिल्ने बताइएको छ । जग्गाको कर, घरभाडा, सवारीसाधनको कर, व्यवसाय कर, मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट नै सम्पादन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस पोर्टलबाट सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय तथा मालपोत विवरणसहित करदाताको रूपमा दर्ता गरिएको हुनुपर्नेछ । वडा कार्यालयमा स्वयम् व्यक्ति वा ईमेलको माध्ययमबाट सम्पर्क गरी आवश्यक कागजात पेस गरेर करदाताको रूपमा सूचीकृत भई करदाताको संकेत नम्बर र नयाँ आन्तरिक संकेत नम्बर प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

करदाता र नयाँ आन्तरिक संकेत नम्बर प्राप्त गरिसकेपछि ई–सर्भिस डट थुलुङ दुधकोशी गाउँपालिका डट जीओभी डट एनपीमा गई नयाँ प्रयोकर्ताको रूपमा रजिस्टर गर्नुपर्ने, आफ्नो युजर र पासवर्ड लगइन गरेपछि भुक्त्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाइन भुक्तानी सेवा प्रदायक ई–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यस्तै कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनोेट गरी कर निर्धारण गरी तिनुपर्ने कर अनलाइन भुक्तानी सेवा प्रदायक ई–सेवाबाटै भुक्तानी गर्न सकिने, करदाता पोर्टलमा रजिस्टर भइसकेपछि ई–सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखेर तिनुपर्ने करको रकम देख्न सकिनेछ । करदाता पोर्टल सचारु भएयता गाउँपालिकामा हालसम्म एक लाख २३ हजार एक सय ४३ रुपैयाँ राजस्व संकलन भइसकेको समेत गाउँपालिकाले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया