Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना महामारीको समयमा दोलखामा ८९ जनाले गरे आत्महत्या

कोरोना महामारीको समयमा दोलखामा ८९ जनाले गरे आत्महत्या


दोलखा । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप र जोखिमको अवधिमा दोलखामा ८९ जनाले आत्महत्या गरेको पाइएको छ । कोरोना भाइरसले शिथिल बनेको दोलखामा यहीँ समयमा आत्महत्या गर्नेको संख्या वृद्धि भएको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/२०७७ भन्दा आव २०७७/२०७८ सालमा आत्महत्या गर्नेको संख्या वृद्धि भएको पाइएको हो ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/२०७७ दोलखामा ५६ जनाले आत्महत्या गरेका थिए । यस्तै गत वर्षको असोज महिनादेखि यस वर्षको असोज मसान्तसम्म ८९ जनाले आत्महत्या गरेका छन् । कोरोना भाइरसले जिल्ला लामो समय लकडाउन र निषेधाज्ञामा पर्दै आएको छ । कोरोना, अशिक्षा, तथा गरिबीको कारण धेरै जनाले आत्महत्या गरेका छन् भने, केही व्यक्ति पारिवारिक झैझगडा र मदिरा सेवनबाट आत्महत्या गरेको पाइएको छ । कतिपयले मनोरोग र डिप्रेसनको कारण पनि आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा रहेका छन् । भीमेश्वरमा १० पुरुष, आठ महिला, तीन बालक र एक बालिकासहित २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी जिरी नगरपालिकाभित्रका चार पुरुष र दुई महिलाले आत्महत्या गरेका छन् भने कालिञ्चोक गाउँपालिकामा छ जना पुरुष, एक महिला र एक बालक गरी आठ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

त्यस्तै गौरीशंकर गाउँपालिकामा तीन जना पुरुष, पाँच जना महिला, एक जना बालक र एक बालिका गरी १० जना, बिगु गाउँपालिकामा पाँच जना पुरुष, पाँच जना महिला र एक जना बालक गरी ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना प्रमुख अन्जन कोइरालाले जानकारी दिए । त्यसैगरी मेलुङ गाउँपालिकामा तीन जना पुरुष, एक जना महिला, एक जना बालक, एक बालिका गरी छ जनाले आत्महत्या गरेको पाइएको छ ।

यस्तै तामाकोशी गाउँपालिकामा छ जना पुरुष, एक महिला गरी सात जनाले आत्महत्या गरेका छन् भने शैलुङ गाउँपालिकामा १० जना पुरुष, दुई जना महिला गरी १२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकमा उल्लेख्य छ । यसैगरी बैतेश्वर गाउँपालिकामा तीन जना पुरुष, एक महिला, एक जना बालक र दुई जना बालिका गरी सात जनाले आत्महत्या गरेका छन् ।

दोलखामा धेरैजसो आत्महत्याका घटना घरायसी विवाद र शारीरिक सम्बन्धका कारण हुनेगरेको पाइएको छ । जिल्लामा वैशाख यता मात्र १९ जनाले आत्महत्या गरेका छन् । पाँच महिनाको अवधिमा १२ जना पुरुष, चार जना महिला, एक बालक र दुई बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाको सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा धेरै आत्महत्याका घटना वृद्धि भएको पाइएको छ । आत्महत्या गर्ने पुरुषको संख्या महिलाको तुलनामा बढिरहेको छ । जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाभित्रका मात्र २० जना पुरुषले आत्महत्या गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया