Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसाफ च्याम्पियनसिपमा सहभागी खेलाडीलाई सम्मान

साफ च्याम्पियनसिपमा सहभागी खेलाडीलाई सम्मान


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई सम्मान गरेका छन् । साथै उनले अन्तर्राष्ट्रिय खेलमा विजयी भएर भएर आए खेलाडी तथा खेल व्यवस्थापक टोलीलाई राष्ट्रियरूपमा तक्मा दिएर सुशोभित गर्ने बताए ।

नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिद्वारा बुधबार आयोजित साफ च्याम्पियनसिप २०२१ मा सहभागी नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै गृहमन्त्री खाँणले नेपाली फुटबल टिमका क्याप्टेन किरण चेम्जोङलाई तक्मा दिन चाहेको कुरा आफैँले फोन गरेर भनेको पनि बताए । गएको असोज ३० मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली उपविजेता बन्न सफल भएको थियो । विगत २८ वर्षको इतिहासमा पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो । उक्त सम्मान समारोहमा मन्त्री खाँडले सरकारले बजेटका सीमितताका बीच साफ च्याम्पियनसिपमा सहभागी प्रतिखेलाडीलाई पाँच लाख र टिम व्यवस्थापकलाई तीन लाख रूपैयाँ दिने घोषणा गरेको पनि जानकारी दिए । यसले खेलाडीलाई हौसला प्रदान गरिएको र नेपालको खेल क्षेत्रलाई माथि उठाउन प्रोत्साहन मिल्ने उनको भनाइ थियो । उनले खेलकुद जीवनको अभिन्न अङ्ग भएको पनि बताए ।

फरक प्रसङ्ग जोड्दै गृहमन्त्री खाँणले नेपाल प्रहरीमा परिवर्तन ल्याउने प्रयास सुरु गरिएको र कुनै पनि हाकिमले कर्मचारीलाई तँ भन्न नपाउने गरी निर्देशन जारी गरेको पनि बताए । उनले प्रहरी परिचर, सिपाहीको वृत्ति विकासका लागि प्रहरी नियमावली संशोधन गर्न थालिएको जानकारी दिए । यस्तै उनले जातीय विभेदविरुद्ध कडाइका साथ कानुन कार्यान्वयनमा लाग्न निर्देशन जारी गरेको उल्लेख गरे ।

समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख शंकर भण्डारीले खेलाडी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै खेलकुदको विकासले मात्रै मुलुकको विकास सम्भव रहेको बताए । नेता भण्डारीले नेपाल सरकार र हरेक राजनीतिक दलले खेलकुदको विकासका साथै खेलाडीमैत्री नीति नियम होस् भन्ने खेलाडीको चाहना पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले कांग्रेसले खेलकुद मन्त्रालय पायो भने सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने दाबी पनि गरे ।

समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको सम्मानको सुरुआत आजबाट भएकोमा खुशी व्यक्त गर्दै मुलुकमा आफूले फुटबलको नेतृत्व गरे पनि सन्तुष्टि हुने ठाउँ नरहेको बताए । उनले फुटबलको पूर्वाधार विकासमा नेपाल कमजोर रहेकाले अन्तर्राष्ट्रियस्तरका खेल मैदान र खेल क्षेत्रमा बजेटको उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरे ।

खेलाडी सुजल श्रेष्ठले नेपालीको माया र सहयोगले नै नेपाली फुटबल यहाँसम्म पुगेको बताउँदै अझै हौसलाको खाँचो रहेको बताए । उक्त समारोहम नेपालमा उपलब्ध खेलाडी र खेल व्यवस्थापकलाई नगदसहित सम्मान गरिएको थियो । समारोहमा नेपाली कांग्रेस काठमाडौँका सभापति नीलकाजी शाक्य, नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन, अर्काे नेता खिमानसिंह रायमाझीलगायत उपस्थित थिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया