Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१८औँ हस्तकला व्यापार मेला हुने

१८औँ हस्तकला व्यापार मेला हुने


काठमाडौं । नेपाल हस्तकला महासंघले विगत वर्षहरूजस्तै यस वर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८औँ हस्तकला व्यापार मेला तथा १६औँ क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरूमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष काठमाडौँ हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्यै बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ । मेला उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए । उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुको करिब एक सय २० स्टल रहनेछन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाइवर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत गरिने कला प्रतियोगितका संयोजक राजमान बज्राचार्यले बताए ।

त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ÷संस्थाको पनि सहयोग रहेको छ । उक्त महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता/उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रवाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । त्यस्तै त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा विक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्वन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया