Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहाकाली र जगबुडा नदीमा पक्की तटबन्ध बनाउन दोधाराका बाढीपीडितहरूको माग

महाकाली र जगबुडा नदीमा पक्की तटबन्ध बनाउन दोधाराका बाढीपीडितहरूको माग


कञ्चनपुर । झण्डै एक दशकअघिदेखि दोधारा चाँदनी नगरपालिका कुतियाकवरको मायादेवी सुनारको परिवार बाढीको चपेटामा पर्दै आएका छन् । वर्षेनी बाढीको पीडा सहँदै आएका मायादेवी सुनारलाई यस वर्षको बाढीले त झन् सहनै नसक्ने पीडा दियो । गत असोजको ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाले महाकाली नदी र जोगबुडा नदीमा बाढी आउँदा नदीको भङ्गालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका दर्जनौँ स्थानीयहरू बेघरबार बनेका थिए ।

मायादेवी सुनारको पनि बाढीले सबैथोक बगाएर लग्यो । उनले धन्न आफ्नो र छोरीको ज्यान भने बचाउन सकिन् । समयमा नेपाली सेनाको उद्धार टोली नआएको भए ज्यान पनि बाढीले लग्ने उनी बताउँछिन् । उनका अनुसार महाकाली नदीको भङ्गोलो उनको घरभित्र घुस्यो । घरको आँगनमा झण्डै ६ फिट पानी बग्न थाल्यो । आफूले लगाएको एकसरो लुगा मात्रै बाढीबाट जोगाउन सकेको उनले सुनाइन् । महाकाली नदी र जगबुडा नदीले वर्षेनी कुतियाकवरका दर्जनौँ नागरिकको उठीबास लगाउँदै आएको छ । यस पटक पनि दुवै नदीमा आएको बाढीले मायादेवीलगायत कुतियाकवरका झण्डै ४२ घरपरिवारको उठीबास लगायो । मायादेवी सुनारको ऐलानी जग्गामा बनाएको सानो झुप्रो थियो । महाकाली नदीले भएको झुप्रो घर बगाएपछि माया सुनार अहिले भत्किएको टहरालाई ठड्याउने प्रयास गर्दै दिनचार्य बिताउन थालेकी छिन् ।

राहतका नाममा राज्यमार्फत संघसंस्थाले दिएको त्रिपाल र केही खानेकुरा तथा भाँडाबर्तनको सहारामा उनी र उनका परिवारको दिन बित्न थालेको छ । बाढी आएको एक साताभन्दा ढिलो मात्रै नगरपालिकामार्फत संघसंस्थाले राहत दिएका थिए । त्यतिन्जेल कुतियाकवर बस्तीमा भारतका शिख धर्मावलम्बीका अनुयायीहरूले खाना, लत्ताकपडा सघाउँदै आएका थिए ।

वर्षेनी आउने बाढीभन्दा यस पटक ठूलो विनाशकारी बाढी आएको स्थानीय बताउँछन् । बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को शान्ति टोल, बैतिफाँटा, सुर्खेती टोल, प्रधान टोल, कुतियाकवरलगायत बस्तीका स्थानीयहरूको ज्यानबाहेक केही बचेन । ‘यस पटकको बाढीले भने निकै विपत्ति आइलाग्यो’ माया सुनार भन्छिन्, ‘दुखीयामाथि फेरि दैव खनिए ।’ बाढीले मरेका चौपाया तथा पशुपन्छीले बस्ती नै दुर्गन्धित बनको छ । सधैँ हराभरा हुने खेतीयोग्य जग्गामा महाकाली नदीले बाटो खोलेको छ । कुतियाकवर बस्ती हो कि, बगर हो चिन्नै कठिन छ । संघसंस्थाले दिएको राहतको नाममा केही खाद्य तथा गैरखाद्य सामग्रीले दैनिकी चलाउन उनीहरू बाध्य छन् ।

‘अब कहाँ जाने ? कुनै उपाय छैन । अन्य स्थानमा जानको लागि केही छैन । हामीहरूको त हरिबिजोग भयो । खाने अन्न पनि जोगिएन । पेट पाल्नै सकस भइरहेको छ । बाढी गएको भोलिपल्टदेखि भारतीय नागरिकहरूले दया देखाएर खाना खुवाए, नत्र भोकले मरिन्थ्यो होला’ आफ्नो पीडा सुनाउँदै स्थानीय मोतीराम सुनारले भने । स्थानीय मोतिराम सुनार बाढी आउने दिन राति मस्त निद्रामा थिए । एकाएक बस्तीमा कोलाहल मच्चियो र उनको निद्रा खुल्यो । बाढी पस्यो भन्दै गाउँलेले मच्चाएको कोलाहल सुनेर उनको सातोपुत्लो गयो । घरबाट झटपट निस्केर घरपरिवारलाई लिएर भाग्न थाले । तर उनले घरबाट सरसामान केही निकाल्नै पाएनन् ।

‘घरभित्र पूरै पानी भरिइसकेको थियो,’ मोतीराम सुनारले भने, ‘झटपट बाहिर आफ्नो जहान परिवारलाई निस्किएँ । तर सरसामान निकाल्ने होसै भएन ।’ नदीले ल्याएको ठूला–ठूला रुखहरू उनको घरमा कोच्चिएका छन् ।

वर्षेनी बाढीको पीडा खेप्दै आएका कुतियाकवर बस्ती आसपासका बस्तीलाई राज्यले उचित बन्दोबस्त गर्न नसकेको स्थानीयको गुनासो छ । दोधारा चाादनी नगरपालिकाले अतिआवश्यक काम तटबन्ध तथा बाढी आएको बेला पूर्वतयारी गर्न नसकेका कारण वषेर्नी बाढीको मारमा यहाँका स्थानीय पर्दै आएका छन् । बाढीपिडितहरूले राहतको साटो उचित महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध गर्न माग गर्दै आएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया