Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचरीकोट रंगशाला र कभड हल निर्माणले गति लिंँदै

चरीकोट रंगशाला र कभड हल निर्माणले गति लिंँदै


दोलखा । जिल्लाको भीमेश्वर नगरपालिकाले वडा नम्बर ३ चरीकोटमा नगरपालिकाको लगानीमा दुई ठूला महत्वपूर्ण योजना रंगशाला र कभड हल निर्माण धमाधम भइरहेको छ । जिल्लाकै प्रमुख खेलमैदानको रूपमा विकास हुँदै गरेको सदरमुकाम चरीकोटको टुँडिखेल खेलमैदानको स्तरोन्नति अहिले जारी रहेकोे छ भने, सोही वडाको अर्को महत्वपूर्ण योजना कभड हलको पनि निर्माण जारी रहेकोे छ ।

नगरपालिकाले गत वर्षदेखि पुरानो टुँडिखेल खेलमैदानलाई व्यवस्थित र अत्याधुनिक बनाउन आरसीसी प्यारापिटसहितको रंगशाला निर्माण गर्न सुरु गरेको थियो । राष्ट्रियस्तरका खेल खेलाउन सक्ने हिसाबले २०७७ साल साउनबाट खेलमैदानको स्तरोन्नति गर्न सुरु गरिएको हो । भीनपा वडा नम्बर ३ मा रहेकोे खेल मैदानको स्तरोन्नति गर्न पहिलो चरणमा ११ करोड १५ लाख ७७ हजार चार सय ५२ रूपैयाँमा किराँतेश्वर–सिमपानी जेभीलाई निर्माणको जिम्मा दिएको भीमेश्वर नगरपालिका मेयर भरतबहादुर केसीले जानकारी दिए । खेलमैदानको लम्बाइ एक सय १० मिटर रहेको छ भने, चौडाइ ६५ मिटर रहनेछ । त्यस्तै चारवटा पक्की आरसीसी बल्क निर्माण गरिने भीनपा वडा नम्बर–३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीले बताए । खेलमैदानको तल्लो साइटमा निर्माण हुने दुई तलाको भवनमा पहिलो तलाको ढलान सकिएर दोस्रो तलाको ढलान गर्ने तयारी गरिएको छ ।

सो भवनको बाहिर पार्टी ४० वटा सटर निकालिएको छ । भवन निर्माण सकिएपछि सो सटरमा जिल्लाका स्थानीय नागरिकले व्यवसाय गर्नसक्ने वडा अध्यक्ष शिवाकोटीले बताए । सो संरचना बनेपछि नगरपालिका छेउमा अवस्थित कभड हल र जिल्ला प्रशासनसँगै रहेको टुँडिखेल रंगशालाले जिल्लाकै सुन्दरता झल्काउने नगरपालिकाको भनाइ छ । पहिलो चरणको काम सक्ने अवधि २४ महिना रहेकाले अहिले धमाधम काम भइरहेको छ ।

नगरपालिकाले चालू वर्षमा रंगशालाको बाँकी रहेकोे काम पूरा गर्न थप टेन्डर लगाउने तयारी गरेको छ । पहिलो चरणमा दुईवटा भवनको ढलान सकेर भवनमाथि प्यारापिट निर्माण सुरु गरिनेछ । त्यस्तै खेलमैदानको उतर र पूर्वतिर दर्शकको लागि टिकट काउन्टर, सवारी पार्किङ, सौचालयलगायतका विभिन्न संरचना निर्माण हुनेछन् । प्यारापिटमा दर्शक राख्नलाई चार तहका सिट निर्माण गरिनेछ ।

खेलमैदान स्तरोन्नति गर्न नगरपालिकाले पहिलो चरणमा ब्याटसहित करिब १२ करोड खर्च गर्ने छ । त्यस्तै दोस्रो चरणमा थप आठ करोड लगानी गरेर रंगशाला निर्माणको काम पुराना गर्ने योजना बनाएको छ । प्राकृतिक हिसाबले अब्बल सम्भावना बोकेको दोलखामा वडा नम्बर–३ मै ७ करोड लागतमा निर्माण भइरहेको चरीकोट कभड हलको पनि निर्माण अन्तिम चरणमा पुगेकाले कभड हलसँगै, खेल रंगशाला बनेपछि आर्थिक आम्दानीका स्रोत खुल्ने र पर्यटन क्षेत्रमा विकास गर्ने वडा नम्बर तीन र नगरपालिकाको योजना रहेकोे वडा अध्यक्ष शिवाकोटीले बताए ।

अबको डेढ वर्षभित्र रंगशालाको सम्पूूर्ण काम सकेर राष्ट्रियस्तरका खेलकुद कार्यक्रम गर्ने भीमेश्वर नगरपालिकाले योजना बनाएको छ । त्यस्तै गरी नगरपालिकाको तेस्रो महत्वपूर्ण योजना चरीकोट बहुउद्देश्यीय व्यावसायिक भवनको काम पनि अन्तिम चरणमा पुगेको छ । सदरमुकाम चरीकोटको कृषि बजारमा उक्त भवन निर्माणसम्पन्न भएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया