Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पपछि व्यवस्थित बन्दै शैलुङको भैसे बजार

भूकम्पपछि व्यवस्थित बन्दै शैलुङको भैसे बजार


दोलखा । जिल्लाको शैलुङ गाउँपालिकाको महत्वपूर्ण ग्रामीण व्यापारिक केन्द्रको रूपमा रहेको भैसे बजार भूकम्पपछि थप विकासित र व्यवस्थित बन्दै गएको छ । २०७२ वैशाखको भूकम्पअघि दुई–चार वटा काठका टहरा र एक दुईवटा ढुङ्गामाटोका घर मात्र देखिने भैसबजार अहिले सो गाउँपालिका आसपासको महत्वपूर्ण ग्रामीण व्यापारिक केन्द्रको रूपमा विकसित भएको छ ।

शैलुङ गाउँपालिका वडा नम्बर ८ को यस बजारमा अहिले करिब चार दर्जन व्यवसायीका घर तथा पसल बनेका छन् । वडाले बजारलाई व्यवस्थित बनाउँदै आफ्ना नागरिकलाई व्यवसायी बनाउन विभिन्न कार्यक्रम तथा व्यवसाय सञ्चालन गरेको वडा अध्यक्ष रामेश्वर उप्रेतीले बताए । वडाले बजार नजिकै स्वास्थ्य केन्द्र राखेको छ । त्यस्तै गाउँमै व्यावसायिक शिक्षाको विकास गर्ने उद्देश्यले बजार नजिकै प्राविधिक विद्यालयको स्थापना गरेर पठनपाठन तथा तालिम चलाउँदै आएको छ । वडाले महिलाहरूलाई व्यवसायी र आत्मनिर्भर बनाउन ढाका बुनाइ तथा सिलाइ तालिम दिएको थियो ।

उक्त तालिमपश्चात् बजारमा महिलाहरूले ढाकाटोपी उत्पादन समेत सुरु गरिसकेका छन् । त्यस्तै बजारमा दर्जनभन्दा बढी होटलहरू निर्माण भएका छन् । आलुखेतीको प्रमुख थलो मानिने भैसेमा दैनिक लाखौँको आलु कारोबार हुनेगरेको छ । वडाको पहलमा बजारका विभिन्न ठाउँमा आलु भण्डारण गर्न ठाउँको व्यवस्थापन गरिएको छ ।

भूकम्पअघि सुनसान देखिने भैसे बजारमा अहिले दैनिक चहलपहल देखिने गरेको स्थानीय राम बहादुर श्रेष्ठले बताए । भूकम्पपछि बजारमा बैंक तथा वित्तीय संस्थाको समेत विकास भएको छ । भैसे पर्यटकीय हिसाबले राम्रो सम्भावना बोकेको ठाउँ भएकाले अझै यस क्षेत्रलाई विकास गर्न आवश्यक रहेको सोही वडाका समाजसेवी सोभित उप्रेतीले बताए । शैलुङका पर्यटकीय गन्तव्यहरू शैलुङ डाँडा, भैसे, मागदेउरालीलगायतका ठाउँ हुँदै चल्ने मुख्य सडक तत्काल निर्माण गर्न आवश्यक रहेको उनले बताए ।

हिलाम्मे र धुलाम्मे सडकको कारण शैलुङको पर्यटन क्षेत्रको विकास पछाडि परेको हुँदा तत्काल सडकको निर्माण गर्न सके शैलुङको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । त्यस्तै शैलुङलाई थप विकसित र चिनाउन शैलुङ साइन्स पार्क निर्माण हुन लागेको समेत उनले जानकारी दिए । शैलुङमा रहेको वन्यजन्तु, जडीबुटी, प्राकृतिक सम्पदाको पहिचान गरेर शैलुङ साइन्स पार्क निर्माण हुने समाजसेवी उप्रेतीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया