Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखाका महिला अझै स्वास्थ्य चौकी जाँदैनन्

दोलखाका महिला अझै स्वास्थ्य चौकी जाँदैनन्


दोलखा । जिल्लामा दर्जनौँ अस्पताल तथा सयौँ स्वास्थ्य केन्द्रहरू गाउँमा पुगेका छन् । सानो स्वास्थ्य समस्या पर्दा समेत मानिसहरू अस्पताल जाने गर्दछन् । तर यहाँका अझै ३ प्रतिशत महिलाहरू घरमा नै सुत्केरी हुने गरेको पाइएको छ ।

धुलिखेल अस्पतालले जिल्लामा सुरु गरेको सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रमको तथ्यांकअनुसार कुल जनसंख्याको ९७ प्रतिशत महिलाले स्वास्थ्य केन्द्र र अस्पताल गएर सुत्केरी हुने गर्छन् भने, अझै ३ प्रतिशत महिलाहरू घरमै सुत्केरी हुनेगरेका छन् । यस्तै धुलिखेल अस्पताल दोलखाका सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अधिकृत रमेश श्रेष्ठले अस्पतालमा एक वर्षको अवधिमा १५ हजार जना बिरामीले स्वास्थ्य सेवा लिएको जानकारी दिए ।

भीमेश्वर नगरपालिका वडा नम्बर दुई दोलखा बजारमा रहेको धुलिखेल अस्पतालबाट चालू वर्ष २०७७/२०७८ मा उक्त संख्याका बिरामीले सेवा लिएका हुन् । अस्पतालले बिहीवार पत्रकार सम्मेलन गरी बिरामीको संख्या वृद्धि हुँदै गएको जनाएको छ । अस्पतालका प्रमुख डाक्टर राजकुमार दंगालले सुरुका वर्षहरूमा कमै बिरामी आउने गरे पनि पछिल्लो समयमा बिरामीको संख्या बढ्दै गएको बताए । ५५ बेड क्षमता रहेको सो अस्पतालले विभिन्न जटिल रोगदेखि सामान्य रोगको समेत सल्यक्रिया गर्नेगरेको छ । अस्पतालमा दैनिक ओपीडी सेवा, भिडियो एक्सरे–ईसीजी सेवा, दन्त रोग सेवा, प्रसूति तथा महिला रोगसम्बन्धी सेवा, मातृशिशु सेवा, सल्यक्रिया तथा जटिल रोगको अप्रेसन सेवालगायतका अनुभवी डाक्टरबाट उपचार गरिने हुँदा बिरामीको चाप बढ्दै गएको सामुदायिक स्वास्थ सहयोग कार्यक्रम धुलिखेल अस्पताल दोलखा अस्पतालका जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।

धुलिखेल अस्पतालको रोहवरमा जिल्लाका चारवटा स्थानीय तहहरू भीमेश्वर नगरपालिका, बैतेश्वर, कालिञ्चोक र तामाकोशी गाउँपालिकाले सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेर ग्रामीण भेगका नागरिकलाई सेवा तथा परामर्श दिँदै आएका छन् । जिल्लामै पहिलो पटक धुलिखेल अस्पताल दोलखाले अस्पताल आउन नसक्ने बिरामीको गाउँमा सामुदायिक स्वास्थ्य कार्यक्रम लगेर अस्पताल नदेखेका समुदायलाई स्वास्थ्यको महत्व बुझाएर उपचार दिने सुरु गरेको उनले बताए । त्यस्तै चारवटा स्थानीय तहका ५० हजार जना मानिसलाई गाउँमै पुगेर सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रममार्फत उपचार दिएको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया