Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि ग्रामीण बस्तीका ज्येष्ठ नागरिकलाई सास्ती

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि ग्रामीण बस्तीका ज्येष्ठ नागरिकलाई सास्ती


बझाङ । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राही सास्ती व्यहोर्न बाध्य भएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नु परेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । जिल्लाका १२ वटा स्थानीयतहमध्ये साइपाल गाउँपालिकामा बैंक स्थापना भएको छैन । साइपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ । बैंक खाता अनिवार्य गरेपछि बुङगल नगरपालिकाले ११ वटै वडामा बैंक खाता खोल्न शिविर सञ्चालन गरेको छ । बैंकसम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाको टोलीले वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताए ।

बुङगल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकी देवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझ्दै आएकी धामीले यसपालिबाट भने बैंकबाट भत्ता बुझ्नुपर्ने भएको छ । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा बैंक खाता खोल्न पु¥याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैंकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ । उनी भन्छिन्, ‘एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । भोलि भत्ता बुझ्न को गइदेला ? बैंक पुग्न दुई घण्टा हिँड्नु पर्छ ।’ दुई घण्टाजति जिपमा जानु पर्छ । सरकारले भत्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँड्ने काम झन्झटिलो भयो । पहिलेकै जसरी घरमै पुगेर दिए राम्रो हुने उनको भनाइ छ । हरेक चौमासिकमा घरमै वृद्धभत्ता बुझ्दै आएकी बुङगल नगरपालिका–२ लौनेकी चन्द्रा धामीलाई बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । लौनेबाट वडा कार्यालयसम्म पुग्न ५ घण्टा हिँड्नु पर्छ । वडा कार्यलयबाट साना सवारी जीप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङगल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट व्यहोर्नु परेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘पहिले घरमै दिन्थे । कहिले भतिजा भतिजीहरूलाई बुझेर ल्याउन भन्थेँ । तर अहिले साह्रै दुःख छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौँ लाइनमा बस्नुपर्छ ।’ एकातिर समयको पनि खर्च अर्कोतिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडीभाडा र खानाखर्चमै सकिन्छ ।

भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौँ पैदल हिँडेर बजार पुग्नुपरेको उनको भनाइ छ । बझाङका अधिकांश लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि कम्तीमा दुई घण्टादेखि एक दिन हिँडेर बैंक पुग्ने गरेका छन् । बैंक पुगे पनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौँ लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । कहिलेकाहीँ बैंकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन् समस्या हुनेगरेको छ । कतिपयको एक दिनमा काम नसकिएर बास नै बसेर भोलिपल्ट मात्रै र्फकनुपरेको अवस्था आउने गरेको साइपाल गाउँपालिकाका मिलन धामीले बताए ।

गाउँनजिकै बैंक नहुने र टाढा–टाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौँ बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकहरूलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने लाभग्राहीको माग छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया