Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपालमा एचआइभी-एड्सको संक्रमण दर घट्दो

नेपालमा एचआइभी-एड्सको संक्रमण दर घट्दो


काठमाडौं । नेपालमा एचआईभी एड्सको संक्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्यांक हेर्दा संक्रमण दर घटेको अध्ययनले देखाएको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित ‘नेपालमा एचआईभी र एड्सको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा १० वर्षको अन्तरमा संक्रमण दर ६३ प्रतिशतले घटेको केन्द्रकी निर्देशक डा सुधा देवकोटाले जानकारी दिइन् । ‘असमानता हटाऔँ एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४औँ विश्व एड्स दिवस बुधबार मनाइँदै छ ।

यस्तै सन् २०१० मा दुई सय १५ जना बालबालिकामा संक्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिकामा मात्र रहेको पाइएको छ । यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार चार सय १३ जना मानिसको निधन हुने गरेकोमा त्यो संख्या सन् २०२० मा पुग्दा छ सय ३६ जनामा झरेको छ । सरकारले एचआईभी र एड्स नियन्त्रणमा चालेका उपायले संक्रमण दर घटेको उनले बताइन् ।

उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ संक्रमित पाइएकोमा सन् २०२० मा सात सय ५४ जना मात्र पाइएको छ । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआईभीमा संक्रमणमा नियन्त्रण भइरहेको छ । सरकारले एचआईभी संक्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवर्द्धन, एचआईभी परामर्श र परीक्षण, यौनरोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको छ । नेपालमा अहिले एचआईभी संक्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार आठ सय ८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताइन् । यो संख्या कुल संक्रमितको ६९ प्रतिशत हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले सन् २०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख तीन सय संक्रमित रहेको जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये ०.१३ प्रतिशत वयष्कमा संक्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर पाँच प्रतिशतभन्दा बढी र सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर एक प्रतिशतभन्दा कम छ । यस्तै सुईद्वारा लागूऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले संक्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत संक्रमण पाइएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया