Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफेरियो रंगुन उपत्यकाको स्वरूप

फेरियो रंगुन उपत्यकाको स्वरूप


कञ्चनपुर । चुरेमा जथाभावी भएको वन फँडानी, विकास बजेटको व्यापक दुरूपयोग, नदी कटान र नियन्त्रणका सबै प्रयास स्थानीय केही व्यक्तिको कमाउने भाँडो भएपछि उजाड र बगर बनेको रंगुन उपत्यका अहिले भने फेरिएको छ ।

स्थानीय तहको गठनसँगै जनप्रतिनिधिको निगरानीमा संरक्षणका काम सुरु भएपछि चार वर्ष नबित्दै पुनः हराभरा हुन थालेको हो । माओवादी विद्रोहका समयमा माओवादी र तत्कालीन वन अधिकारीहरूका बीचको साँठगाँठले चुरेको मथिल्लो भेगमा व्यापक वन फँडानी भएको थियो ।

त्यतिबेला बगर बनेको उपत्यकामा अचेल प्रवेश गर्ने जो–कोहीले पनि परिवर्तनको अनूभूति सहजै गर्न सक्छन् । अझ वन फँडानीले बगर बनेपछि विस्थापित भएका सर्वसाधारण पनि बिस्तारै आफ्नो थातथलोमा फर्कन सुरु गरेका छन् । गाउँबाट विस्थापित भएको १४ वर्षपछि खडक भट्ट पुनः गाउँ फर्किएका छन् ।

२०६२ मा रंगुन नदीमा आएको बाढीले घर जग्गा सवै बगाएर बिस्थापित वनेका खडकले भने, ‘१४ वर्षको वनबासपछि घर फर्किएजस्तो भएको छ ।’ हुन पनि खडकसहित गाउँका ४६ भन्दा बढी परिवारले पुर्खादेखि बस्दै आएको गाउँ बाढीले बगाएको थियो ।

कोही कैलाली र कंचनपुरका राजमार्ग छेउमा त कोही भित्री मधेशकै विभिन्न सामुदायिक वन छेउमा आश्रय लिएर बस्दै आए । ‘कुनै दिन यसरी फेरि गाउँ फर्किएर बस्न पाइएला भन्ने कल्पना समेत गरेको थिएन,’ अर्का विस्थापित हरि थापा भन्छन्, ‘१२ वर्षमा खोलो फर्कन्छ भन्छन्, घरबारविहीन बनाएको रंगुन नदीमा तटबन्ध गरिएपछि गाउँ फर्कन पाएका हौँ ।’

खडक र हरि मात्र होइन, डँडेलधुराको रंगुन उपत्यकामा बाढी, नदी कटान र चुरेका खहरे खोलाले घरजग्गा बगाएर विस्थापित बनेका अधिकांश पीडित पुनः गाउँ फर्कन थालेका छन् । डोटी डँडेलधुरा सिमाना सालिमे लेकबाट सुरु भएर महाकालीसम्म बग्ने झण्डै ४० किलोमिटर लामो रंगुन नदीमा तटबन्ध सुरु भएको पाँच वर्षमै अधिकांश पीडित आफ्नो थातथलोमा फर्कन थालेका हुन् ।

बाढीले बगाएको तत्कालीन जोगबुढा गाविसको वडा नं २ मात्र होइन, तत्कालीन आलिताल गाविसको सुन खोलादेखि सीमा नदी महाकालीसम्मको ४० किलोमिटर नदी क्षेत्रका एक दर्जन बस्ती पुनर्स्थापित हुन थालेका छन् ।

स्थानीय तहको गठन र निर्वाचनपछि तटबन्ध, नदी नियन्त्रण र वन संरक्षणको काम प्रभावकारी रूपमा सञ्चालन भएपछि विस्थापितहरू आफ्नो थातथलोमा फर्कने वातावरण बन्न थालेको हो ।

‘दुई सय ६४ परिवार गत वर्षसम्म पुनस्र्थापित भइसकेका छन् भने विस्थापित भएर सुकमबासीको जीवन बाँच्न बाध्य अरु धेरै परिवार पनि फर्कन थालेका छन्,’ स्थानीय बासिन्दा हरि पनेरु भन्छन, ‘स्थानीय तहको निगरानीमा प्रभावकारी रूपमा काम हुन थालेपछि बगरमा परिणत भएको रंगुन उपत्यका एक पटक फेरि हराभरा हुन थालेको देख्न सकिन्छ ।’

स्थानीय तह, जिल्ला प्रशासन र अन्य सरोकारवाला निकायसँग विस्थापित भएका नागरिकको सूची नभए पनि दुई दशक यता जिल्लाको भित्री मधेश क्षेत्रबाट वाढी र नदी कटानका कारण दुई हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी र नदी कटानमा परेका विस्थापितलाई सहयोग गरिरहेको गैरसरकारी संस्था सामाजिक विकास मञ्चका अनुसार यो तथ्यांक पनि एकिन होइन । विस्थापितको सूची योभन्दा निकै लामो हुन सक्छ ।

संस्थाका निर्देशक दयाराम चापागाईले भने, ‘सरोकारवाला निकायले पूर्णरूपमा घरजग्गा बगाएकालाई मात्र विस्थापितको सूचीमा राखेको छ । तर बाढी र नदी कटानले बस्न नसकिने गरी क्षति भएका मानवबस्तीबाट विगतमा ठूलो संख्यामा स्थानीय विस्थापित भएका हुन् ।’

तर पछिल्लो समय रंगुन नदी नियन्त्रणको काम धमाधम हुन थालेपछि विस्थापितहरू फर्कने र बाढीले बगाएको आफ्नो उब्जाउ जमिनमा खेती गर्ने क्रम सुरु भएको उनले बताए ।

हुन पनि बितेका चार वर्षमा रंगुन नदीमा १२ किलोमिटरभन्दा बढी नदी नियन्त्रणको काम सम्पन्न भइसकेको छ । संघीय सरकारको आर्थिक सहयोग र स्थानीय तहको निगरानीमा रंगुन नदीले सबैभन्दा बढी क्षति पु-याएको सिमलखेत, परिगाउँ, लालढुंगा, कटान, आमपानी क्षेत्रमा तटबन्धको काम सम्पन्न भइसकेको छ ।

वन फडानीले चुरेवाट हरेक बर्ष निस्कने नयाँ नयाँ खहरे खोला वन्ने क्रम रोकिएको छ । चुरेमा खहरे खोला वन्ने क्रम रोकिएपछि रंगुन उपत्यका जोड्ने वुडर जोगवुढा सडक स्तरोन्नती हुने काम धमाधम भइरहेको छ । पछिल्ला ५ बर्षमा सरकारी, गैरसरकारी क्षेत्रवाट सुरु भएका संरक्षण कार्यक्रम र स्थानीय तहको प्रयासले गर्दा बगरमा परिणत भइसकेको रंगुन उपत्यका पुरै परिवर्तन हुन थालेको छ ।

डोटी डडेलधुरा सिमानामा रहेको वुडर बजारदेखि उपत्यका छिर्ने जो कोहीले पनि परिवर्तनको यो अनुभूति सहज रूपमा गर्न सक्छन । आलीताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले भने, ‘डोटीको वुडरवाट उपत्यका छिर्न थालेपछि चारैतिर नदी कटान र चुरेवाट निस्कने खहरे खोलाले जताततै वगरै वगर देखिने रंगुनमा पछिल्लो समय हरियाली छाएको देख्न सकिन्छ ।’

२०६२ साल यता वाढी र पहिरोका कारण रंगुन उपत्यकामा १ सय ३३ जनाले ज्यान गुमाइसकेका थिए । महाभारतवाट वग्ने शीर्ष खोला, चूरेवाट वग्ने पन्तुरा र सादनी नदी र उपत्यकाको मध्य भागवाट वग्ने रंगुन नदी मात्र होइन, पूर्व पश्चिम चूरेवाट निस्कने ३४ भन्दा वढी खहरे खोलाले वगर वनाएको उपत्यकामा अहिले भने नपत्याउने गरि परिवर्तन हुन थालेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया