Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमतदाता बन्न ३ हजार खर्च !

मतदाता बन्न ३ हजार खर्च !


दोलखा । भौगोलिक हिसाबले कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १ लाई दुर्गम वडाको रूपमा लिइन्छ । सो वडाबाट महँगो यातायात खर्च तितेर गाउँपालिका पुग्नुपर्ने बाध्यता छ । यस वडाको तारेभिर, बेगुम्पा, क्यम्पोललगायतका विकट बस्तीका नागरिकलाई गाउँपालिका पुगेर मतदाता परिचयपत्र बनाउन तीन हजार खर्च लाग्ने वडाअध्यक्ष बाबुलाल थामीले बताए ।

कालिञ्चोक गाउँपालिका सबैभन्दा माथिल्लो भेगमा पर्नेतारेभिर, बेगुम्पा, क्यम्पोल गाउँका धेरै बस्तीहरू विकट ठाउँमा छन् । यहाका धेरै गाउँमा अझै सहज खालको सडक पुग्न सकेको छैन । असहज सडक र दुर्गम क्षेत्र भएकै कारण यहाँका नागरिकलाई गाउँपालिकामा महँगो यातायात शुल्क तिरेर जानुपर्ने बाध्यता छ । गाउँपालिकादेखि वडासम्म सडक लैजान सामान्य ट्र्याक खोलिएको छ । हिउँदमा जसोतसो वडासम्म बोलेरो पुग्ने गर्छ । बोलेरोमा चढेर मानिसहरू गाउँपालिका कार्यलयमा आउने गरेका छन् । निर्वाचन कार्यालय दोलखाको टोली मतदाता नामावली संकलन गर्न गाउँपालिकासम्म पुगेको छ । वडाका नागरिकलाई मतदाता परिचयपत्र बनाउन गाउँपालिका जानुपर्ने जानकारी गराए पनि त्यहाँसम्म पुग्ने खर्च नहुँदा धेरै गाउँका स्थानीय यस पटक पनि मतदाता नामावलीमा नाम दर्ता गर्नबाट छुट्ने संकेत देखिएको वडाध्यक्ष थामीले बताए । कालिञ्चोक गाउँपालिका–१ को तारेभिर, बेगुम्पा क्यम्पोललगायतका विकट गाउँका मतदाता नामावली परिचयपत्र बनाउन छुटेका नागरिकलाई गाउँपालिकासम्म पुगेर परिचयपत्र बनाउन खर्चिलो हुने भएकाले धेरै जना यो पटक पनि मतदान गर्नबाट वञ्चित हुने देखिएको उनको भनाइ छ ।

थामीको वडामा करिब तीन हजार जनसंख्या रहेको छ । गत चुनावमा सो वडामा एक हजार पाँच सय ४२ जना मतदाता रहेका थिए । अघिल्लो पटक पनि करिब पाँच सय जना दुर्गमताकै कारण मतदाता नामावलीमा नाम समावेश गर्नबाट छुटेका थिए । यस पटक करिब पाँच सय जना मतदाता वृद्धि हुने देखिए पनि गाउँपालिकासम्म पुगेर आउने खर्च नभएकै कारण धेरै जनाले मतदाता परिचयपत्र नलिने देखिएको उनको भनाइ छ । जिल्लाबाट गाउँपालिकासम्म आएको निर्वाचन नामावली संकलनको टोली वडासम्म पुग्न नसक्दा महँगो यातायात खर्च गरेर गाउँपालिका पुग्नुपर्ने भएकाले मतदाता परिचयपत्र बनाउन समस्या भएको सो वडाका स्थानीयहरूको दुखेसो रहेकोे छ । जिल्लामा शुक्रबारदेखि मतदाता नामावलीमा संकलन कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाले यो पटक जिल्लाका स्थानीय तहमै नाम संकलन गर्न मिल्ने व्यवस्था गरेको छ ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा दुई चरणमा नामावली संकलन कार्यक्रम सुचारु गरेको निर्वाचन आयोगले जनाएको छ । आइतबार मतदाता परिचयपत्र बनाउन गाउँपालिका पुगेका कालिञ्चोक १ दुर्गम वडाका स्थानीयले वडाबाट गाउँपालिकासम्म आउँदा सवारी भाडा, खाजा खाना गर्दा प्रतिव्यक्ति तीन हजार रूपैयाँसम्म लाग्ने गरेको सुनाए ।

कालिञ्चोक गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीदेखि करिब २८ किलोमिटर कच्ची सडकमा यात्रा गर्दा उनीहरूले बोलेरोलाई प्रतिव्यक्ति सात सयदेखि एक हजार रूपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ । वडाका दुई चार जनाले चासो दिएर परिचयपत्र बनाए पनि सर्वसाधारणले फोटोसहितको मतदाता परिचयपत्र बनाउन वडामै प्रतिनिधि बोलाउन माग गरेका छन् । वडाका नागरिकले गाउँपालिकाले दुई दिन वडामै नामावली संकलन गर्न प्रतिनिधि खटाएर नामावली संकलन गर्ने व्यवस्था गरिदिए धेरै सहज हुने उनीहरूको भनाइ छ । जिल्ला निर्वाचन कार्यालय दोलखाले स्थानीय तहको केन्द्र–केन्द्रमा पुगेर नामावली संकलन गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया