Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी विश्व बैंकको नयाँ प्रतिवेदन सार्वजनिक

हरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी विश्व बैंकको नयाँ प्रतिवेदन सार्वजनिक


काठमाडौं । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि अझै प्रयासको जरुरी रहेको विश्व बैंकले गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । काठमाडौँमा सोमबार सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर रिभ्यू अन फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट ) प्रतिवेदनले वित्तीय स्थिरता र हरित, लचिलो र समावेशी विकासका लागि सहायताको आवश्यकता औँल्याएको हो ।

प्रतिवेदनअनुसार मुलुक संघीयतामा गएपछि खर्चको दायित्व पनि प्रदेश तथा स्थानीय सरकारहरूमा हस्तान्तरण भएको छ । अन्तरसरकारी हस्तान्तरण र राजस्व बाँडफाँटको माध्यमबाट यस्तो लगानी हस्तान्तरण भएको हो । वार्षिक बजेटको करिब ३० प्रतिशत (कुल गार्हस्थ्य उत्पादनको ८ देखि ९ प्रतिशत) लगानी हस्तान्तरण भइरहेको छ ।

संघीयताले नीति निर्माणको प्रक्रियालाई जनताको नजिक ल्याएको छ तर यसका कारण यसले वित्तीय खर्च बढेको छ । कोरोना महामारीका कारणले यस्तो खर्च अझै बढेको छ । यसरी खर्च बढ्दा देशको वित्तीय घाटा र सार्वजनिक ऋणको मात्रा बढेको प्रतिवेदनले देखाएको छ । ‘संघीयतालाई बलियो बनाउनका लागि हामीले गरेका प्रयास र हरित, पुनरूत्थाशील र समावेशी विकासका लागि हामीले गरिरहेको पहलहरूका लागि यो रिपोर्टले विश्लेषणात्मक आधार प्रदान गरेको छ’ अर्थसचिव मधुकुमार मरासिनीले भने, ‘वित्तीय हस्तान्तरण प्रणालीलाई सुधार गर्दै नियमन र प्रतिवेदन प्रणालीलाई स्थापित गरी स्थानीय सेवालाई थप परिणाममुखी र उत्तरदायी बनाउने हाम्रो प्रयासलाई यस प्रतिवेदनले थप बल दिनेछ ।’

यो प्रतिवेदनले वित्तीय दिगोपनालाई बलियो बनाएर हरित, पुनरूत्थानशील तथा समावेशी विकासतर्फको यात्राका लागि गरिनुपर्ने सुधार पहिचान गरेको छ । यसले विशेषगरी पाँच प्रकारका उच्च प्राथमिकता पहिचान गरेको छ । अन्तरसरकारी अनुदान प्रणालीमार्फत तहगत सरकारको खर्च उत्तरदायित्वलाई ताजगी पार्न उत्प्रेरित गर्ने, आयात ड्युटीमा सुधारको माध्यमबाट निर्यात र रोजगारी सिर्जनामा सहयोग गर्ने, मूल्य अभिवृद्धि कर छुटमा गरिने समीक्षाजस्ता कामबाट आन्तरिक राजस्वलाई बलियो बनाउने, राष्ट्रिय परियोजना बैंकलाई कार्यान्वयनमा लिएर सार्वजनिक पुँजीगत खर्च बढाउने र हरित वृद्धितर्फको परिवर्तन लागि वित्तीय उत्प्रेरणा दिने गरी काम गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । ‘यो प्रतिवेदनले देखाएका वित्तीय दिगोपना तथा वित्तीय संघीयता कार्यान्वयनजस्ता विषयमा सुधार गर्नका लागि सदाझै विश्व बैंक सरकारलाई सहयोग गर्न तयार छ’, विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्सका लागि देशीय निर्देशक फारिस हदाद जार्भोसले भने, ‘यो रिपोर्ट र विश्व बैंकको अर्को मानव विकाससम्बन्धी सार्वजनिक खर्चको समीक्षा रिपोर्टले विश्व बैंकलाई नेपाललाई गरिने सहयोगको खाका बनाउन मदत गर्नेछ ।’ उनका अनुसार यो नीतिगत विकास ऋणलगायतका विभिन्न सहायता आयोजनाका लागि पनि सहयोगी हुनेछ ।

यस प्रतिवेदनले हरित वृद्धिको लागि लगानी प्रक्रिया र वित्तीय नीतिहरूको सुदृढीकरणको आवश्यकतालाई जोड दिएको छ । नेपालले जनताको स्वास्थ्य र अर्थतन्त्रको रक्षा गर्नका लागि वायु प्रदूषणको लक्ष्य पूरा गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ । हरित ऊर्जाको प्रयोग बढाउनका लागि गर्नुपर्ने वित्तीय सुधारतर्फ ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया