Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमुडे–चरीकोट सडकको ठेक्का तोड्ने तयारी

मुडे–चरीकोट सडकको ठेक्का तोड्ने तयारी


दोलखा । सरकारले छ वर्षदेखि अलपत्र सडक मुडे–चरीकोटको ठेक्का तोड्ने तयारी गरेको छ । सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने तयारी थालिएको बताइएको छ ।

दोलखाका नागरिकको अगुवाइमा गठित संघर्ष समितिका अध्यक्ष चिरञ्जीवी मास्केसहितको प्रतिनिधिसँगको सोमबार भएको भेटमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले एक हप्ताभित्र ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्काको सम्झौता तोड्ने आश्वासन दिएका हुन् । उनले ठेक्का तोड्ने प्रक्रिया पूरा गरेर नयाँ टेन्डर आह्वान गर्ने बताए । खाँडीचौर–मुडे हुँदै चरीकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम दुई भागमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो । खाँडीचौरदेखि मुडेसम्मको काम सम्पन्न भइसकेको छ भने मुडे–चरीकोटको काम अलपत्र अवस्थामा छ ।

खाँडीचौर–मुडे सडकको काम सुनौला खिम्ती निर्माण सेवाले र मुडे–चरीकोट सडकखण्ड विस्तारको काम शंकर माली निर्माण सेवाले जिम्मा लिएका थिए । खाँडीचौर–चरीकोट सडक विस्तारको लागि शंकर माली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा ठेक्का पाएको थियो । विसं २०७४ भित्र सम्पन्न हुनुपर्ने काम चार वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक चार लाख रूपैयाँका दरले हर्जना समेत तिराउँदै आएको छ ।

उक्त सडक निर्माणको माग गर्दै दोलखाका नागरिकहरूले पटक–पटक दबाब समेत दिँदै आएका छन् । सोमबार मन्त्रालयका सचिवसँग छलफल गरेका उनीहरूले मंगलबार सडक विभागमा धर्ना दिएका थिए । धर्ना दिने क्रममा उनीहरूलाई केही समय पक्राउ गरी छाडेको छ । सडक निर्माणको माग राख्दै आएका उनीहरूलाई काठमाडौँ, दोलखा र सिन्धुपाल्चोकबाट तीन पटक पक्राउ गरिसकेको छ । यस्तै प्रहरीले मंगलबार पनि सडक विभागमा धर्नामा बसेका रमेश खतिवडा, भवानी कार्की, ध्रुव आचार्य, कुशल खडका र मिनकुमार शिवाकोटीलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया