Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसंयुक्त राष्ट्र संघमा नेपालले सगरमाथाको फोहोर प्लास्टिकबारे मुद्दा उठाउने

संयुक्त राष्ट्र संघमा नेपालले सगरमाथाको फोहोर प्लास्टिकबारे मुद्दा उठाउने


काठमाडौं । संयुक्त राष्ट्र संघीय प्लास्टिक प्रदूषण महासन्धिमा विश्व सर्वोच्च शिखर सगरामाथालगायत हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेको बारे नेपालले मुद्दा उठाउने भएको छ । प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापीरूपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन हुन गइरहेको छ । संयुक्त राष्ट्र संघीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रूपमा उठाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरू र छिमेकी मुलुकहरूबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरू पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मदत गरेको भन्दै विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन् । उच्च हिमाली प्लास्टिक प्रदूषणबारे समावेशीता एवं घातक रसायनयुक्त प्लास्टिकको जीवनचक्रसम्बन्धी एक दिने जनचेतना कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरूले प्लास्टिकजन्य सामग्रीले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरूका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफिड), ‘डोको रिसाइक्लियरर्स र ब्लु बेस्ट टु भ्यालु’ नामक संस्थाद्वारा संयुक्तरूपमा राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरूले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएको उल्लेख गरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले केही वर्षअघि सगरमाथाबाट संकलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरू पाइएको तथ्यहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औँल्याएको थियो ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवं नियन्त्रणका कार्यहरूको प्रभावकारी कार्यान्वयनका लागि एक कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको जानकारी दिएका थिए । हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण हुन नदिन आन्तरिक प्रयाससँगै यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । साथै उनले प्लास्टिक प्रदूषण रोकथाम, न्यूनीकरण एवं नियन्त्रणकारी निर्णयहरू सोचे जस्तो प्रभाकारी कार्यान्वयन हुन नसकेको बताए । उनले भने ‘प्लास्टिक प्रदूषणसम्बन्धी मुद्दा र विषयवस्तुहरू निकै गम्भीर, विशेष र विस्तृत छन्, यसको लागि कुनै एक पक्ष वा एक राष्ट्रको प्रयास पर्याप्त हुँदैन ।’

हिमाली क्षेत्रबाट संकलन गरिएको हिउँ र पानीको नमूनाहरूमा माइक्रो प्लास्टिकका कणहरू पाइकोमा आफू संवेदनशील भएको उनको भनाइ छ । उनले भने ‘हिमालयबाट फोहर संकलन, ओसारपसार र सबैभन्दा महत्वपूर्ण यसको वातावरणमैत्री तरिकाबाट व्यवस्थापन एवं विसर्जन गर्ने सानो वा चानचुने चुनौती होइन तर हामी हाम्रो समस्याप्रति चनाखो नभई बस्न पनि सकिन्न र हुन्न पनि ।’ यस्तै उनले देशभर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्धलाई लागू गर्न वन तथा वातावरण मन्त्री रामसहाय यादवले प्रतिबद्धता जनाए । प्लास्टिक आयातकार्ता, उत्पादनकर्ता र रिसाइक्लिङकर्ता व्यक्ति, व्यवसायी एवं उद्योगीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले सबैलाई यसप्रति गम्भीर हुन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका प्रविधि अन्वेषण शाखाप्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकालले हिमाली क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गरी त्यसको कारण पहिल्याउन आवश्यक रहेको बताउँदै प्लास्टिकजन्य प्रदूषणको समस्याको समाधान विश्वव्यापी रूपमै खोजी हुनु आवश्यक रहेको उल्लेख गरे । साना तथा मझौला उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले प्लास्टिकहरूको प्रयोगबाट हुने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक असरलाई कम गर्न प्लास्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रयोगकर्ता एवं फोहर संकलन, ओसारपसार र पुनः प्रयोगमा संलग्न व्यक्ति, संघसंस्था, निजी क्षेत्रबीच सहकार्य र साझा दृष्टिकोण बन्नु जरुरी रहेको बताए ।

कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक प्लास्टिक रामचरित्र साहले नेपालमा प्लास्टिक प्रदूषणको सवाल र प्रभाव, ब्लु बेष्ट टु भ्यालुका नवीन विकास महर्जनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण र सफाइ अभियान, डोको रिसाइक्लियरर्सका पञ्जियारले नेपालमा प्लास्टिक रिसाइक्लिङको अवस्था र समस्या र वन तथा वातावरण मन्त्रालयका केशवराज जोशीले नेपालमा प्लास्टिक प्रदूषण व्यवस्थापनसम्बन्धी सरकारको भूमिका उत्तरदायित्व तथा पहलका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्लास्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रदूषण, रिसाइक्लिङ र अध्ययन अनुसन्धानसँग सम्बन्धित विभिन्न सरोकारबालाहरूहरूको सहभागिता रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया