Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पले ध्वस्त निलकण्ठेश्वर महादेव मन्दिरको पुनर्निर्माण हुन सकेन

भूकम्पले ध्वस्त निलकण्ठेश्वर महादेव मन्दिरको पुनर्निर्माण हुन सकेन


दोलखा । भूकम्पले ध्वस्त बनेको गौरीशंकर गाउँपालिका वडा नम्बर–२ जुँगुको पुरानो धार्मिकस्थल निलकण्ठेश्वर महादेव मन्दिरको भूकम्प गएको सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । सरकारले भूकम्पपछि जिल्लाका अन्य मठमन्दिरको पुनर्निर्माण गर्न चासो दिएपनि ग्रामीण भेगमा रहेको पुरानो धार्मिक स्थल निलकण्ठेश्वर महादेव मन्दिरको निर्माणमा भने चासो नदिएको स्थानीयले बताएका छन् ।

करिब आठ वर्ष बितिसक्दा पनि मन्दिर निर्माणमा स्थानीय, प्रदेश तथा केन्द्र सरकारले चासो नदिएका स्थानीय युवाहरू नै मन्दिर निर्माणमा जुटेका छन् । सरकारी उपेक्षाको सिकार बनेको मन्दिरको डीपीआर तयार गरी पुनर्निर्माणका लागि करिब ४१ लाख रुपैयाँ लाग्ने स्थानीय भीष्मप्रकाश खड्काले बताए । २०७२/७३ को महाभूकम्पले उक्त मन्दिर पूर्णरूपमा क्षति भएको थियो । उक्त स्थानमा निलकण्ठेश्वर महादेव मन्दिर परिसरमा महादेव पोखरी समेत निर्माण गरिने भएको छ । मन्दिर परिसरमा पोखरी निर्माण गरी विभिन्न जातका बोटबिरुवा, फूललगायतको बगैँचा निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको खड्काको भनाइ छ । उक्त मन्दिरको स्थापनाको रोचक किंवदन्ती रहेको छ ।

परापूर्वकालमा एक किसानले गाईपालान गरेको र गाईले दूध नदिएपछि किन दिएन भनेर पत्ता लगाउँदा उक्त गाईले सधैँभरि त्यस ठाउँको एक शिलामा दूध चढाउने गरेको देखिएकोले किसानले गएर गाइले दूध चढाएको ठाउँमा खनेर हेर्दा महादेवको शिला उत्पत्ति भएको विश्वास गरिँदै आएको छ । स्थानीयले त्यस शिलालाई महादेवको रूपमा पूँजा आरधना गर्न सुरु गरी मन्दिरको नाम निलकण्ठेश्वर महादेव राखेका थिए । उक्त मन्दिर करिब दुई सय वर्षअगाडि निर्माण भएको विश्वास गरिन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया