Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्थानीय तहको निर्वाचन गर्न माग

स्थानीय तहको निर्वाचन गर्न माग


काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले माग गरेका छन् । यी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचनको प्रक्रिया थालनी गर्नुपर्ने माग गरेका छन् ।

नेपालको संविधान र विद्यमान कानुनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रूपमा गरिसक्नुपर्ने उनीहरूको भनाइ छ । स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भन्दै दोस्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न सरकार र निर्वाचन आयोगको उनीहरूले ध्यानाकर्षण गराएका छन् । संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने पनि व्यवस्था नभएको जनाउँदै तीनवटै संस्थाले कथमकदाचित समयमा नै निर्वाचन नभएमा संकट आउने बताएका छन् ।

संकट आउँदा वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने, स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रक्रिया, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रणाली नै अवरुद्ध हुने विज्ञप्तिमा उल्लेख छ । ‘स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिसलगायतका अन्य कार्यहरू नहुँदा सेवा प्रवाह पनि अवरुद्ध हुनेछ, जसको परिणाम लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै जनमानसमा नकारात्मक प्रभाव पर्नसक्ने तर्फ सबैको ध्यान जानु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया