Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदिक्तेल बजार क्षेत्रको सडक स्तरोन्नति गरिने

दिक्तेल बजार क्षेत्रको सडक स्तरोन्नति गरिने


खेमराज अधिकारी
खोटाङ, माघ २३
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार क्षेत्रको सडक ढलान गरिने भएको छ । कच्ची अवस्थाका कारण हिँउदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने दिक्तेल बजारस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको रत्नपार्कदेखि हाटडाँडासम्मको सडक सहरी विकास तथा भवन निर्माण विभागको लगानीमा स्तरोन्नति हुने प्रकृया अघि बढेसँगै धुलो र हिलोबाट आजित बजारवासीले राहत पाउनुका साथै सवारी साधन आवागमनमा सहज हुने भएको हो ।

क्रमागत योजनाअन्तर्गत राखिएको दिक्तेल बजारको सडक ढलानमा सहरी विकास तथा भवन निर्माण विभाग विराटनगरमार्फत यस वर्ष पाँच करोड बजेट उपलब्ध भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘दिक्तेलबजारको सडक ढलानमा करिब १५ करोड रकम खर्च हुने डीपीआरमा उल्लेख छ’, उनले भने, ‘क्रमागत योजना भएकाले यस वर्ष पाँच करोड बजेटको मात्र टेन्डर आह्वान गरेर ढलानको काम सुरु गरिनेछ ।’

जम्मा १५ करोडको लागत रहेको बजार ढलानलाई अर्को वर्ष दश करोड थप हुने भट्टराईले बताए । दिक्तेल बजारको सडक ढलानका लागि अर्थ मन्त्रालयले गत पुस २९ गते सहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । त्यसपछि सहरी विकास मन्त्रालयले मातहतका सहरी विकास तथा भवन निर्माण विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्रमार्फत निर्देशन गरेको हो । दिक्तेलबजारको धुलाम्मे सडक यसअघि पनि पटक÷पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम काम नहुदै फिर्ता भएको थियो ।

बजारको सडक ढलान प्रकृया अगाडि बढे पनि बजारमा भएका पुरानो संरचनाका घरहरूको बार्दली, पेटी तथा टहरालगायत सरचनाले ढलानमा अवरोध गर्ने देखिन्छ । रत्नपार्कदेखि बेसक्याम्पसम्म सडक ढलान सहज देखिए पनि बेसक्याम्पदेखि अम्बागाछीसम्म भने साँगुरो सडकसँगै घरको बार्दलीले सडक ढलानमा समस्या पार्ने देखिएको छ । पटक/पटक असफल भएको सडक ढलानमा देखिने सबै समस्यालाई यस वर्ष भने नगरपालिकाको तर्फबाट समाधान गरेर जुनसकै हालतमा ढलानको कामलाई सफल पारिने नगरप्रमुख दिपनारायण रिजालले बताए । ‘सडक ढलानमा बजार क्षेत्रका दुईवटा घरले असर गर्ने देखिएको छ’, उनले भने, ‘ती घरहरूलाई उचित व्यवस्थापन गरेर ढलानको काम गरिनेछ ।’ दिक्तेल बजारको कतिपय स्थानमा अत्यन्तै साँगुरो सडकका कारण ठूला सवारी साधन प्रवेश गरेको समयमा अन्य सवारी साधन तथा पैदलयात्रीलाई समेत सडक पार गर्न मुस्किल हुने गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया