Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचरीकोट अस्पतालको पीसीआर ल्याब प्रयोगविहीन

चरीकोट अस्पतालको पीसीआर ल्याब प्रयोगविहीन


दोलखा । कोरोना भाइरसको तेस्रो भेरिएन्ट ओमिक्रोन तीव्ररुपमा बढिरहेको बेला जिल्लाको एक मात्र पीसीआर ल्याब प्रयोगविहीन बनेको छ । आर्थिक तथा जनशक्ति अभावले दुई महिनादेखि मेसिन प्रयोगविहीन भएको हो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि गत वर्ष वैशाखमा प्रदेश सरकारको अनुदानमा जिल्लामा नै पीसीआर सेवा सूचना गर्न ल्याब स्थापना गरिएको थियो । केन्द्र सरकार तथा बागमती प्रदेश सरकारको एक करोड ५० लाख अनुदानमा स्थापना गरिएको उक्त प्रयोगशाला कात्तिकदेखि बन्द अवस्थामा छ । वैशाखदेखि असोजसम्म सयौँ नमूना परीक्षण गरिएको उक्त प्रयोगशाला पुराना दक्ष जनशक्ति हिँडेपछि जनशक्ति अभावले सञ्चालनमा आउन नसकेको हो । दोस्रो लहरको महामारीमा करिब सात महिना सेवा सुचारु हुँदा जिल्लामै पीसीआर परीक्षण गर्न निकै सहज भएको थियो तर दशैँपछि मेसिन सञ्चालन गर्दै आएका जनशक्ति हिँडेकाले नयाँ जनशक्ति ल्याउन नसक्दा पीसीआर ल्याब बन्द भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए ।

प्रयोगशालामा माइक्रोवायोलोजिस्टसहितका दक्ष जनशक्ति आवश्यक पर्ने हुँदा अहिले अस्पतालमा एक जना मात्र पीसीआर विधिसम्बन्धी टेक्निकल स्वास्थ्य ज्ञान भएको व्यक्ति छन् । प्रयोगशाला सुचारु गर्न कम्तीमा तीन जना व्यक्ति आवश्यक पर्ने र दुई जना नहुँदा प्रयोगशाला बन्द हुनपुगेको पौडेलले बताए । पछिल्ला दिनमा जिल्लामा समुदायस्तरमै संक्रमण फैलिरहेको छ । तेस्रो लहर सुरु भएदेखि जिल्लामा सक्रिय संक्रमित संख्या एक सय ८० पुगेको छ । हाल स्वास्थ्य कार्यालयले जिल्लाभर एन्टिजिन कीटमार्फत नमूना परीक्षण गर्दै आएको छ । जिल्लामा दैनिक कोरोनासग मिल्दोजुल्दो लक्षण भएका रुघाखोकी, ज्वरोका बिरामी बढिरहे पनि प्रयोगशाला बन्द हुँदा परीक्षण गर्न समस्या भएको अस्पतालहरुले बताएका छन् ।

जिल्लाकै एक मात्र पीसीआर प्रयोगशाला बन्द हुँदा कोरोना संक्रमित नागरिकलाई एन्टिजिन किटकै भर पर्नुपरेको छ । सेवा बन्द हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । कतिपय संक्रमितले काभ्रेको धुलिखेल गएर महँगो सेवा लिनुपर्ने बाध्यता रहेको छ । भीमेश्वर नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पुनः पीसीआर सेवा सुचारु गर्न कर्मचारी माग गरेको बताइएको छ । दक्ष जनशक्ति कर्मचारी आउनेबितिक्कै पुनः प्रयोगशाला सञ्चालनमा आउने भीमेश्वर नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया