Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री


काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले खोकना कुष्ठरोग शिविरमा रहेका दुई सय कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको निप्पन फाउन्डेसनको आर्थिक सहयोगमा एनएमएले सुरु गरेको ‘कोभिड–१९ प्रभावित पर्वतारोही र कुष्ठरोगबाट प्रभावित व्यक्तिका लागि मानवीय सहायता कार्यक्रम’ परियोजनाअन्तर्गत उक्त वितरण गरिएको हो ।

खोकना आरोग्य आश्रम परिसरमा आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं २ का अध्यक्ष रामचन्द्र क्षेत्री, एनएमएका अध्यक्ष सन्तवीर लामा र नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमालले उनीहरूलाई न्यानो कपडा र स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् । शिविरमा आश्रय लिएका प्रत्येक व्यक्तिलाई ज्याकेट, एक डबल साइजको कम्बल, २३६ एमएल ह्यान्ड सेनिटाइजरको बोतल, एक जोडी डेटोल साबुन र ५० थान मास्कको प्याकेट वितरण गरिएको थियो । शिविरले हाल देशभरबाट आएका दुई सय कुष्ठरोगीलाई सेवा दिइरहेको छ ।

शिविरका कुष्ठरोग पीडित उमाप्रसाद तिवारीले निप्पोन फाउन्डेसनले धेरै पटक आफूहरुलाई सहयोग गरेको बताए । एनएमए अध्यक्ष सन्तवीर लामाले फाउण्डेसनले नेपालका कुष्ठरोगीहरूलाई धेरै पहिलेदेखि सहयोग गरेको स्मरण गरे । कार्यक्रममा फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मसातोले यो सहयोग उनीहरूको दैनिक जीवनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

कार्यक्रममा फाउण्डेसनका कार्यक्रम निर्देशक माकोटो वाडा र कार्यक्रम अधिकृत रेमी मसुदा पनि जुममार्फत सामेल भएका थिए । यस्तै एनएमएका महासचिव कुलबहादुर गुरुङ, सचिव टिकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, सचिवालय सदस्य त्रिपाठी दीपेन्द्र पाण्डे, सिङ्गी लामा र शिवबहादुर सापकोटा, केन्द्रीय कार्यसमिति सदस्य सञ्जीव गुरुङ, पासाङ भोटे, सार्की तामाङ र एनएमएका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राई पनि कार्यक्रममा सहभागी थिए । एनएमएले आयोजनाअन्तर्गत आगामी महिना तीन हजार (तीन हजार) पर्वतारोहीलाई राहत (खाना) प्याकेज पनि वितरण गर्ने जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया