Techie IT
×
गृहपृष्ठबिबिधसोलुखुम्बुलाई चालू आर्थिक वर्षभित्र साक्षर घोषणा गरिने

सोलुखुम्बुलाई चालू आर्थिक वर्षभित्र साक्षर घोषणा गरिने


गुरुङ । हिमाली जिल्ला सोलुखुम्बुलाई चालू आर्थिक वर्षको अन्त्यसम्ममा साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको साक्षर घोषणा हुन बाँकी तीनवटा पालिकालाई साक्षर घोषणा गरेर जिल्लालाई नै साक्षर घोषणा गरिने तयारी भइरहेको शिक्षा समन्वय इकाइ सोलुखुम्बुले जनाएको छ ।

आठ स्थानीय तहमध्ये छवटा पालिकालाई साक्षर घोषणा गरिसकेको छ भने खुम्बु पासाङ ल्हामु, महाकुलुङ र लिखुपिके गाउँपालिका साक्षर घोषणा हुन बाँकी रहेको एकाइ प्रमुख खगेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘महाकुलुङ गाउँपालिकामा पुस २० गतेबाट साक्षर साक्षरताका लागि कार्यक्रम सञ्चालन भइरहेको छ भने लिखुपिकेमा पनि तयारी भइरहेको छ, यी दुईवटा पालिका साक्षर हुनेबित्तिकै हामी जिल्लालाई नै साक्षर घोषणा गर्छौँ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको कार्यपालिकाले साक्षर पालिका घोषणा गरिसकेको छ तर औपचारिक घोषणा हुन बाँकी छ ।’ तर विगत दुई वर्षदेखि देशका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारले लक्ष्य राखेको भए पनि कोभिडका कारण पछाडि धकेलिँदै आएको छ । उक्त लक्ष्य पूरा गर्न चालू आर्थिक वर्षमा पनि कोभिड बाधक बन्नसक्ने सम्भावना बढेको छ ।

प्रदेश नम्बर १ का १४ जिल्लामध्ये सोलुखुम्बु र ताप्लेजुङ साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिकहरू साधरण लेखपढ गर्नसक्ने भएपछि उक्त जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिने व्यवस्था छ । तर सोलुखुम्बुको हकमा भने साक्षर घोषणा गरिसकेको पालिकाहरूमा समेत निरक्षरको संख्या अधिक रहेको नागरिकहरूको गुनासो छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया