Techie IT
×
गृहपृष्ठबिबिधनक्कली पीसीआर रिपोर्ट बनाउने चार जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाउने चार जना पक्राउ


काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ कौशलटारस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी ललितपुर ग्वार्को बस्ने धनुषा बिदेह नगरपालिका ४ घर भएका २५ वर्षीय रोशन कुमार छिट्टान र सोही हस्पिटलका ल्याब प्रबन्धक भक्तपुर कौशलटार बस्ने सर्लाही बलरा नगरपालिका ७ घर भएका २४ वर्षीय प्रसन्न कुमार झा तथा काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका कर्मचारीहरू काठमाडौं गौशाला बस्ने धनुषा छिरेश्वर नगरपालिका १ घर भएका २५ वर्षीय नागेन्द्र यादव र भक्तपुर सूर्यबिनायक नगरपालिका ५ सल्लाघारी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ५ घर भएका २९ वर्षीय माधव मैनाली रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट ती दुई अस्पतालबाट नेपाल सरकारले तोकेभन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनासमेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले रोशन कुमारलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलबाट जारी भएका आठ थान नक्कली पीसीआर रिपोर्टसहित एयरपोर्ट अगाडिबाट र प्रसन्न कुमारलाई सोही हस्पिटलबाट तथा कान्तिपुर अस्पतालका नागेन्द्र कुमारलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित सोही अस्पताल अगाडिबाट र माधव मैनालीलाई सोही अस्पतालबाट पक्राउ गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधि समेतको रोहबारमा प्रहरीले दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्युटरलगायतका उपकरण, पीसीआर टेष्ट दर्ता रजिष्टर, नक्कली पीसीआर रिपोर्ट र रसिद प्याडहरू समेत बरामद गरेको छ । साथै दुवै अस्पतालका पीसीआर ल्याबहरू सिल गरी पीसीआरसम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ ।

उक्त अस्पतालले व्यक्तिको स्वाब र परीक्षणविनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको, ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको, पीसीआर पोजेटिभ देखिएका स्याम्पलहरूको सिटिभ्यालु तथा मिति तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ती अस्पतालहरूले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्र बनाई सामूहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबविनै बिचौलियाहरूले आफैँले आफ्नै स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा स्वाब दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको, बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म असुल गर्ने गरेको तथा क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको खुल्न आएको छ ।

हाल फरार दुवै अस्पतालका ल्याबका सञ्चालकहरू तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया