Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलुक्ला विमानस्थलको हेलिप्याड सञ्चालनको अन्तिम तयारीमा

लुक्ला विमानस्थलको हेलिप्याड सञ्चालनको अन्तिम तयारीमा


सोलुखुम्बु । विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा पर्ने सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाको नयाँ हेलिप्याड एक महिनाभित्रमा सञ्चालन आउने भएको छ । विमानस्थलको धावनमार्ग नजिकै निर्माणसम्पन्न हेलिप्याड आगामी मार्च अर्थात् फागुन दोस्रो साताबाट सञ्चालन गरिने नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार २०७६ जेठ १ गतेबाट निर्माण सुरु भएको हेलिप्याडको भौतिक संरचना निर्माणकार्य गत मंसिरमा सकिएको थियो । तर गत पुसमा प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएका इन्जिनियर बाबुराम पौडेल नेतृत्वको पाँच सदस्यीय वरिष्ठ सुरक्षा मूल्यांकन टोलीले केही प्राविधिक कुराहरु अपुग भएको औँल्याएको बताइएको छ । टोलीले औँल्याएका कमजोरीबारे केन्द्रीय कार्यालयले लुक्ला विमानस्थललाई पत्रचार गरेपश्चात् समस्याको समाधान गरी आगामी सिजन (मार्च)बाट हेलिप्याड सञ्चालनमा आउने विमानस्थल प्रमुख अछामीले बताए ।

कान्छाराम कन्ट्रक्सन प्रालिले प्राधिकरणको ३२ करोड रुपैयाँको लागतमा निर्माण गरेको उक्त हेलिप्याड झन्डै १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकैपटक आठवटासम्म हेलिकोप्टर पार्किङ गर्न मिल्ने उक्त हेलिप्याड सञ्चालनपछि विमानस्थलमा ट्राफिक जाम हुने समस्या हट्ने नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । नेपालकै व्यस्त विमानस्थलमध्येका लुक्ला विमानस्थलमा सिजनको समयमा दैनिक एक सय पटकभन्दा बढी हवाई उडान तथा अवतरण हुनेगरेको छ ।

२०७६ वैशाख १ गते लुक्ला विमानस्थलबाट रामेछाप विमानस्थल उडेको समिट एयरको जहाज धावनमार्गबाट चिप्लिएर दाहिनेतर्फ मोडिँदा धावनमार्ग नजिकै पार्किङ गरिएको हेलिकोप्टरमा ठोक्किएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो । त्यस लगत्तै प्राधिकरणले गठन गरेको छानबिन समितिले विमानस्थलको धावनमार्गनजिकै हेलिकोप्टर रोक्न नहुने निष्कर्ष निकालेको थियो । सोहीअनुसार धावनमार्गको दाहिनेतर्फ केही टाढा रहेको जमिनमा हेलिप्याड बनाउने निष्कर्षमा प्राधिकरण पुगेको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया