Techie IT
×
गृहपृष्ठबिबिधग्रामीण बस्तीका गोरेटो बाटोको स्तरोन्नति

ग्रामीण बस्तीका गोरेटो बाटोको स्तरोन्नति


दोलखा । बैतेश्वर गाउँपालिकाले ग्रामीण बस्तीका पुराना गोरेटो बाटोको स्तरोन्नति गर्न सुरु गरेको छ । गाउँपालिकाले गोरेटो बाटोको स्तरोन्नति गर्न लाखौँ रूपैयाँ लगानी गरेर धमाधम काम गरिरहेको छ ।

चालू वर्षमा करिब १० किलोमिटर गोरेटो बाटोको स्तरोन्नति तथा निर्माण गर्ने पालिकाले जनाएको छ । वडा नम्बर १, २, ३, ६, ७ र ८ मा ७ किलोमिटर गोरेटो बाटो निर्माण तथा स्तरोन्नति गर्न पालिकाले रकम छुट्याएको हो । यसमध्ये करिब छ किलोमिटर गोरेटो बाटो निर्माण भइसकेको गाउँपालिका योजना अधिकृत रविन्द्र चौलागाईंले जानकारी दिए । गाउँपालिकाले सहरी क्षेत्रका दुईटा वटा वडा ४ र ५ बाहेकका सबै वडामा नयाँ तथा पुराना गोरेटो बाटोको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको उनले जानकारी दिए । अहिले वडा नम्बर १ गैँरीमुदी टार, उपल्लो मुदी, वडा नम्बर २ को देउलिटार, सानिटार, माझगाउँमा करिब आधा दर्जन गोरेटो बाटोको स्तरोन्नति तथा ढलान गरिसकिएको छ । सानटारमा चार सय मिटर पक्की गोरेटोबाटो निर्माण भएको छ भने वडा नम्बर–३ को मिर्गे, पाइले, मजुवालगायतका भित्री ग्रामीण बाटोहरूको स्तरोन्नति गरिएको छ ।

गाउँपालिकाले सडक, सामुदायिक तथा सार्वजनिक भवनसँगै पुराना गोरेटो बाटो निर्माणमा पनि चासो दिएर काम थालेको हो । त्यस्तै पालिकाले वडा नम्बर–६, ७ र ८ मा समेत गोरेटो बाटो निर्माण गरिरहेको छ । गाउँपालिकाले बाक्लो समुदायको बसोबास भएका गाउँमा समात्ने रेलिङसहितको ढलान गरेर बाटो निर्माण गरिरहेको गाउँपालिका योजना अधिकृत चौलागाईंले जानकारी दिए । पालिकाले ग्रामीण बस्तीका पुराना गोरेटो बाटोको एक मिटर चौडाइ वृद्धि गरेर साना दुईपांग्रे सवारी समेत गुडाउन मिल्ने गरी स्तरोन्नति गरेको हो । गत साउनमा गाउँपालिका अध्यक्ष छवि लामाले टोलटोलमा अनुगमन गरेर स्थानीयको महत्वपूर्ण आवश्यकता र मागका बारेमा जानकारी लिएका थिए । उनीहरूको माग गोरेटो बाटोको स्तरोन्नति रहेकाले सोहीअनुरूप बजेट विनियोजन गरेर काम थालिएको अध्यक्ष लामाले बताए । गाउँपालिकाले गाउँको विकाससँगै स्थानीयलाई रोजगार समेत दिएको छ । गाउँका उपभोक्तामार्फत काम गराएर पालिकाले स्थानीयलाई रोजगार दिएको हो ।

यस्तै गाउँपालिकाले साबिक गाविसहरू गैरिमुदी, मिर्गे, काब्रे, नाम्दु, मार्बु र क्षत्रपाको विकासमा चासो दिएर काम गरिरहेको छ । अविकसित रूपमा चिनिएको पालिकालाई पाँच वर्षको छोटो समयमा विकासको आभास दिलाउन आफूू सफल भएको अध्यक्ष लामाले बताए । यस्तै उनले प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेर गाउँपालिकाभित्रका चारवटा मुख्य ग्रामीण सडक कालोपत्रे गर्ने काम गरेको जानकारी दिए । यस्तै पाँच वर्षको अवधिमा दर्जनौँ बस्तीलाई सडक सञ्जालले जोडेको, ग्रामीण तथा कृषि सडक विस्तार गरेको अध्यक्ष लामाले बताए । यस्तै गाउँपालिकामा दर्जनको हाराहारीमा मन्दीर, गुम्बा, मूूर्ति र सालिक निर्माण भएका छन् । बैतेश्वर अस्पताल निर्माण तथा अस्पताललाई थप व्यवस्थित बनाउन १५ बेडको भवन निर्माण सुरु गरेको अध्यक्ष लामाले बताए । पालिकाले विद्यालय भवन, खानेपानी योजनालगायतका क्षेत्रमा पनि विशेष चासो राखेर काम गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया