Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहुप्सेकोट र मध्यविन्दुमा ‘कर्मभूमि समाज’को उद्यमशीलता अभिमुखीकरण

हुप्सेकोट र मध्यविन्दुमा ‘कर्मभूमि समाज’को उद्यमशीलता अभिमुखीकरण


काठमाडौं । उद्यमशीलता विकासमा काम गर्दै आएको ‘कर्मभूमि समाज’ले नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकामा उद्यमशीलता विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । हुप्सेकोटमा ७० र मध्यविन्दुमा ६८ सम्भावित उद्यमीहरू सहभागी थिए । उनीहरूलाई उद्यमशीलता सञ्चालनका लागि व्यवसायिक योजना, उद्यम/व्यवसाय दर्ता तथा सहुलियतपूर्ण कर्जाप्राप्तिका प्रक्रियाबारे जानकारी गराइएको थियो ।

‘कर्मभूमि समाज’ले गाउँपालिका र नगरपालिकासँग सहकार्य गरी उद्यमशीलता विकासका लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा स्थानीय बजार सम्भावना समेतलाई हेरेर व्यवसाय सञ्चालन गर्न सुझाइएको थियो । उद्यमशील बन्ने आकांक्षा राख्ने स्थानीयहरूले सहज वित्तीय पहुँच र सहुलियतपूर्ण कर्जा कार्यक्रमको विस्तारको आवश्यकता औँल्याएका थिए । हुप्सेकोटमा अधिकांश सहभागीहरू कृषि तथा पशुपालन व्यवसायमा आबद्ध रहेको र उनीहरूले दैनिक उपभोग्य वस्तुमा समेत गाउँपालिकालाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजनामुताबिक उद्यम/व्यवसाय विस्तारको सम्भावना रहेको बताएका छन् ।

बैंकको कर्जा उपभोग गर्न धितोको समस्या औँल्याउँदै उनीहरूले सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत प्रवाह हुने कर्जाविना धितो हुनुपर्नेमा जोड दिए । उच्च पहाडमा गुणस्तरीय कफी खेती, मध्यपहाडमा उच्च मूल्यका फलफूल तरकारी र तराई क्षेत्रमा खाद्यान्नलगायतको सम्भावना भए पनि नदीमा पुलको अभावमा वर्षभर ढुवानीका लागि समस्या हुने गरेको बताए ।

कार्यक्रममा हुप्सेकोट गाउँपालिकाकी मेयर लक्ष्मीदेवी पाण्डेले बैंक तथा वित्तीय संस्थाको तुलनामा सहकारीबाट ऋणप्राप्ति सहज भए पनि महँगो भएको बताइन् । ‘गाउँका मानिसहरूमा वित्तीय साक्षरताको अभाव छ, उनीहरूले बैंकमा कर्जा प्राप्तिका लागि पहल गर्न सक्दैनन्,’ उनले भनिन् ।

त्यस्तै मध्यविन्दु नगरपालिकासँगको सहकार्यमा छुट्टै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । अभिमुखीकरण र वित्तीय पहुँचको माध्यमबाट उद्यमशील सोचले मूर्तरूप हासिल गर्नसक्ने सहभागीहरूको भनाइ थियो । मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले युवामा भएको उर्जाशील शक्तिलाई उत्पादनशीलता रूपान्तरण गर्नका लागि ज्ञान, सीप र लगानीको अपरिहार्यतामा जोड दिँदै उद्यमशीलता विकासका कार्यक्रमलाई नगरपालिकाका तर्फबाट सहजीकरण गर्ने बताए ।

‘युवालाई स्वावलम्बी बन्न प्रोत्साहित गर्ने हाम्रो कार्यक्रम छ । परिवारमा एउटाले काम गर्ने अरु सबै रमाएर बस्ने परम्पराको अन्त्य गरी सबैले कमाउने र सबै रमाउने वातावरण सिर्जना गर्न जरुरी छ,’ उनले भने, ‘हामी युवा तथा साना व्यवसायी स्वरोजगार कोष र कर्मभूमि समाजसँग सहकार्य गरेर यहाँका युवा तथा उद्यमशील बन्ने सम्भावना बोकेकाहरूलाई उद्यमशील बनाउन चाहान्छौं ।’

अभिमुखीकरण/प्रशिक्षणका क्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपालले हरेक वार्डमा १७ भन्दा बढी प्रकारका व्यवसायको सम्भावना रहेको चर्चा गर्दै कपाल काट्नेदेखि, मोटरसाइकल तथा सवारी साधन मर्मत सम्भार, सिलाइबुनाइ, हस्तकलादेखि ब्युटीपार्लरसम्म सञ्चालन गर्न सकिने र गाउँपालिकाले आपूर्ति शृंखला निर्माण गर्नुपर्नेमा जोड दिए ।

अभिमुखीकरण कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रतिनिधिले सहकारीमार्फत उद्यमीहरूलाई दुई लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दै आइरहेको जानकारी दिएका थिए । यस्तो कर्जाको प्रारम्भिक ब्याजदर आठ प्रतिशत निर्धारण भए पनि सही ढंगले लगानी गरेको छ भने ऋण तिर्दा ब्याजको ६० प्रतिशतसम्म मिनाहा पाउने भएकाले यथार्थ प्रभावकारी ब्याजदर ३.२ प्रतिशत हुने भएकाले यस्ता स्किमबाट कर्जा प्राप्त गर्न सुझाइएको छ । यसका अतिरिक्त कर्मभूमि समाजले व्यवसायिक कृषि तथा पशुपालन कर्जा, शिक्षित युवा स्वरोजषर कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा र दलित समुदाय व्यवसाय विकास कर्जालगायत पाँच प्रकारका सहुलियतपूर्ण कर्जाप्राप्तिका लागि उद्यमी बन्न इच्छुकहरूलाई सहयोग गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया