कञ्चनपुर । महाकाली र जोगबुडा नदीले घेरेर टापुमा परिणत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बासिन्दा अहिले पनि दुःखमै जीवन व्यथित गरिरहेका छन् । हिउँदमा त्यो दुःख थोरै कम भएजस्तो हुन्छ । बर्खामा भने नदी गाउँ पसेर स्थानीयलाई हैरान पार्छ । कति ठाउँमा नदी तर्न पनि उस्तै सकसको सामना गर्नुपर्छ । यस्तो परिस्थितिमा अहिले भने थोरै भए पनि एउटा खुसीको खबर आएको छ, त्यहाँबाट ।
दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोज जोड्ने पक्की पुलको निर्माण सम्पन्न भएको छ । पालिकाकै दुर्गम बस्तीमा गनिने कञ्जभोजमा आउजाउ गर्न झोलुंगे पुल थियो तर मालसामान ढुवानी तथा बिरामी बोक्न एम्बुलेन्स जाने बाटो थिएन । जसका कारण बिरामीले दोधारा स्वास्थ्य चौकी ल्याउन वा दोधारा चाँदनी क्षेत्रका गम्भीर बिरामीलाई सीमावर्ती भारतीय बजार खटीमा लैजान स्ट्रेचरमा खोला तार्नुपर्ने बाध्यता थियो ।
जोगबुडा नदीमा पक्की पुल निर्माण भएपछि भने एम्बुलेन्सको सुविधा मात्रै भएको छैन । दोधारा चाँदनी नगरपालिकासँग सडक सम्पर्कमा नआएको बस्तीमा अहिले सहजै यातायातका साधन चल्न थालेका छन् । ‘स्थानीयलाई किनमेलका लागि सीमावर्ती बजारसम्म आउजाउ गर्न निकै सजिलो भएको छ,’ दोधारा चाँदनी–७ का वडाध्यक्ष ज्ञानेन्द्र क्षत्रीले भने, ‘पुल नहुँदा आधा वडा सम्पर्क विच्छेदजस्तै थियो ।’
केही वर्षअघिसम्म कञ्जभोज क्षेत्र सुक्खा बन्दरगाहका लागि निकै चर्चामा आएको थियो । पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सुक्खा बन्दरगाह निर्माणकै लागि उक्त क्षेत्रको अवलोकन गरेका थिए । त्यसयता उक्त क्षेत्रमा पटक–पटक सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययनका लागि थुप्रै टोलीहरू आए । पछिल्लो समय गत वर्ष सुक्खा बन्दरगाह निर्माणस्थल कञ्जभोजको साटो दोधारा चाँदनी नगरपालिका–१ मा निर्माणको प्रक्रिया अघि बढेको छ ।
सुक्खा बन्दरगाह निर्माण भएपछि सडकसँगै पुल बनेर सहज हुने अपेक्षा थियो । सुक्खा बन्दरगाह निर्माणको साटो लम्बिने र अन्तिममा अर्कै स्थानमा सरेपछि कञ्जभोजका स्थानीय निराश बनेका थिए । पछिल्लो पटक १६ करोड बढीमा दुई लेनको पक्की पुल निर्माण भएपछि उनीहरूमा दोधारा चाँदनीसँग मात्रै नभई देशकै भूगोलसँग जोडिएजस्तो अनुभूति भएको छ ।
‘पुल नहुँदा हामी त भारतीयजस्तै भएका थियौँ, किनमेलदेखि सम्बन्ध सबै भारततिरै थियो,’ दोधारा चाँदनी–७ कञ्जभोजका मनवीरसिंह ठकुरीले भने, ‘तर अब हामी पनि नेपाली हौं भन्ने अनुभूति हुन थालेको छ ।’ ५६ वर्षीय ठकुरी १० वर्षको उमेरमा रोल्पाबाट भारतीय बाटो हुँदै कञ्जभोजमा पुगेका थिए ।
जोगबुडा नदीमा हिउँदमा समेत पानीको मात्रा बढी नै हुन्छ । बर्खामा त तर्नै सकिँदैन । एक दशकअघि झोलुंगे पुल निर्माण भएपछि आउजाउमा केही सहज भए पनि त्यसअघि भने निकै समस्या थियो । ठकुरीका अनुसार झोलुंगे पुल निर्माण हुनुअघिसम्म जोगबुडामा किस्ती (डुंगा) चल्थ्यो ।
किस्ती राति ८ बजेसम्म मात्रै चल्थ्यो । त्यसपछि पुग्नेले नदी किनारमै रात बिताउनुपर्थ्यो । कैयौँ दिन ८ बजेपछि नदी किनारमा पुगेका ठकुरीलाई ज्यान जोखिममा हालेर पौडी खेलेर नदी तरेको सम्झना अहिले पनि ताजै छ । ‘त्यति बेलाका दुःख सम्झेपछि अहिले त निकै खुसी छौँ,’ ठकुरी भन्छन्, ‘झोलुंगे पुल निर्माणले केही सहजता ल्याएको थियो, अहिले झनै सजिलो भएको छ ।’
कञ्जभोज २०२२ देखिको बस्ती हो । यहाँ साढे पाँच सय बढी परिवारको बसोबास छ । एक सय ७१ मिटर लम्बाइको उक्त पुल छ महिनाअघि निर्माण भएको हो । पुल निर्माणका क्रममा पनि शारदा नहरको पानी भारतीय पक्षले यही नदीमा छाड्ने गरेका कारण निकै समस्या आउने गरेको थियो । हिउँदमा समेत नदीमा पानीको बहाब बढी हुने गरेका कारण निर्माण कम्पनीले पटक–पटक म्याद थप गरेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया