Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘पहिरो पीडितको नाममा आएको रकम अन्यत्रै खर्च’

‘पहिरो पीडितको नाममा आएको रकम अन्यत्रै खर्च’


सुवास बस्नेत
दोलखा, माघ २६
दोलखाको गौरीशंकर गाउँपालिका जुँगुमा पहिरो पीडितलाई दाताले सहयोग गरेको रकम अन्यत्रै खर्च गरिएको छ । पीडितको नाम जम्मा भएको रकम अन्य प्रयोजनमा खर्च भएको पाइएको हो । पालिकाका २ जना वडा अध्यक्षले पीडितको नाम जम्मा भएको रकम तत्कालीन समयमा उद्धार गर्न भन्दै करिब आठ लाख रकम उद्धारमा खर्च भएको बताएका छन् ।

पहिरोपीडितको नाममा स्वदेशी तथा विदेशी दाताले १७ लाख ३८ हजार रुपैयाँ सहयोग गरेका थिए । सहयोग भएको रकम एकीकृत बस्ती बनाउने भन्दै सो पालिकाका १ र २ वडा अध्यक्षको नाममा सहकारी तथा बैंकमा संयुक्त खाता खोली राहत कोष स्थापना गरिएको थियो । उनीहरुको नाममा १७ लाख ३८ हजार रुपैयाँ स्थानीय सहकारी र मैनापोखरीमा रहेको मेगा बैंकमा रकम जम्मा गरिएको थियो । १७ लाख ३८ हजार रुपैयाँमध्ये करिब आठ लाख रकम पहिरोले थुपारेको माटो पन्छाउन, डोजरमा प्रयोग गरेको रकम तिर्न, तेल भाडा तथा पहिरो निरीक्षणमा आएका व्यक्ति खाना खुवाउँदा रकम खर्च भएको पालिकाका वडा नम्बर २ का वडा अध्यक्ष बसन्त कार्कीले बताए ।

पालिकाबाट आठ लाख रकम यो आर्थिक वर्षमा विनियोजन भएको र खर्च भएको रकम शोधभर्ना गरी पीडितको नाममा खोलिएको खातामा रकम जम्मा गर्ने कार्कीले बताए । उनले तत्कालीन अवस्थामा सांसदसहितको बैठकले एकीकृत बस्ती बनाउने निर्णय गरेकोले सो बस्ती निर्माण गर्न जग्गा खोजी गरिराखेको बताए । जग्गाको भाउ नमिलेको कारण एकीकृत बस्ती बनाउन ढिला भएको दाबी गरे । त्यसैगरी वडा १ नम्बरका वडा अध्यक्ष झलक कार्कीले पहिरो गएको स्थानमा फेरि पनि पहिरोको जोखिम भएकोले बस्ती अन्यत्रै सार्नुपर्ने भएकाले काम ढिला भएको बताए । करिव आठ लाख रुयैयाँ पहिरोले झरेको माटो पन्छाउन तथा तत्कालीन समयमा पीडितलाई व्यवस्थापन गर्न रकम खर्च गरिएको जानकारी दिए ।

पीडित भन्छन्, ‘रकम कति आयो थाहा छैन’ पहिरोमा छोरा गुमाएका पीडित लोकेन्द्र खड्काले जम्मा भएको पैसाबारे आफूहरुलाई केही थाहा नभएको बताए । पहिरो गएको सात महिना बितिसक्दा पनि तत्कालीन समयमा गाउँपालिकाले दिएको ७५ हजार तथा वडाले दिएको रकम १० हजार र सहकारीले दिएको २५ रुपैयाँबाहेक अन्य कुनै राहत रकम नपाएको बताए । स्थानीय सरकारले पुनः आवास निर्माण गर्न र पीडितको व्यवस्थापन गर्न खासै चासो नदिएको हुँदा आवास निर्माणमा ढिला भएको उनले बताए ।

त्यसैगरी अर्की पीडित मेनकुमारी खत्रीले पहिरोले घर पूर्णरूपमा पुरेको हुँदा छिमेकीको घरमा भाडामा कोठा लिएर बस्नुपरेको बताइन् । उनले स्थानीय सरकारका प्रतिनिधिले आफूहरुलाई थाहा नदी जम्मा भएको १७ लाख रकममध्ये धेरै रकम खर्च भएको सुन्नमा आएको बताइन् ।

जुँगुका अन्य पहिरो पीडितहरुले पनि हालसम्म कति सहयोग रकम जम्मा भयो, केमा खर्च भयो, त्यो विषयमा आफूहरुलाई सहयोग रकम जम्मा गर्ने वडाअध्यक्षहरुले कुनै जानकारी नदिएको बताए । गएको साउनको १७ र १८ गते आएको पहिरोले पालिकाको १ र २ नम्बर वडामा २ जना बेपत्ता भएका थिए भने ११ घर पहिरोको कारण विस्थापित भएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया