Techie IT
×
गृहपृष्ठबिबिधबागबानी केन्द्रलाई ज्ञान केन्द्रसँग समायोजन गर्ने निर्णयको विरोध

बागबानी केन्द्रलाई ज्ञान केन्द्रसँग समायोजन गर्ने निर्णयको विरोध


सोलुखुम्बु । सोलुखुम्बुको बागबानी केन्द्र फाप्लुलाई ज्ञान केन्द्रसँग समायोजन गर्ने प्रदेश १ सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । गत माघ २३ गतेको बैठकले प्रदेश मातहतका बागबानी केन्द्र फाप्लुलाई जिल्लाकै कृषि ज्ञान केन्द्रमा समायोजन गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको संख्या बढाउँदै लाने र किसानसँग प्रत्यक्ष सरोकार रहेको कृषि क्षेत्रका प्राविधिक कार्यालय भने घटाउन थालेको भन्दै उक्त निर्णयको विरोध भएको हो । उक्त निर्णय तत्काल सच्याउन पनि सरोकारवालाहरूले माग गरेका छन् । हिउँदे फलफूलको बिरुवा उत्पादन तथा अनुसन्धान गरी हिमाली तथा पहाडी क्षेत्रमा फलफूलको उत्पादन बढाउने उद्देश्यले २०३४ सालमा स्थापना भएको बागवानी केन्द्र कृषकसँग प्रत्यक्ष जोडिएको र महत्वपूर्ण कार्यालय हो । तर यसको महत्व नै नबुझी विनाअध्ययन समायोजन गर्ने निर्णय प्रदेश सरकारले गरेको भन्दै सम्बन्धित कार्यालयका कर्मचारी तथा कृषिविज्ञहरूले यसमा विरोध जनाइरहेका छन् । बागबानी केन्द्र फाप्लुका प्रमुख उपेन्द्र ठाकुरले कृषि ज्ञान केन्द्र र बागबानी फार्मको कार्य प्रकृति फरक भएकाले काम गर्न गाह्रो हुने बताए ।

उनले भने, ‘बागबानी कार्यालय भनेको हिउँदे फलफूल स्याउ, नास्पाति, आरुबखडा, ओखर, किवीको बिरुवा उत्पादन र बिक्री गर्ने कार्यक्षेत्र हो भने तर ज्ञान केन्द्र भने अनुदानको कार्यक्रम सञ्चालन गर्ने निकाय हो त्यसैले यी दुईवटा कार्यालयको कामको प्रकृति नै फरक छ ।’ यस्तै पूर्वबागबानी विकास अधिकृत एवं बागबानीविज्ञ चन्द्रमान श्रेष्ठले पनि प्रदेश १ सरकारको उक्त निर्णय अपरिपक्व भएको बताए । उनले भने, ‘छुट्टै कार्यालयबाट किसानलाई सेवा प्रवाह गर्दै आएका फार्मले अब कृषि ज्ञान केन्द्रको एउटा एकाइबाट सेवा दिने गरी खुम्चयाउनुले कृषि क्षेत्रप्रति प्रदेश सरकारको दृष्टिकोण उजागर भएको छ, किसानसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यालय खुम्च्याउनु कत्तिको जायज हो ?’ यस्तै नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीले बागबानी फार्मलाई ज्ञान केन्द्रमा गाभ्ने निर्णय वर्तमान परिस्थितिअनुकूल नभएको बताए । कृषिलाई प्रोत्साहन गरेर अझ क्षेत्र फराकिलो बनाउँदै लैजानुपर्नेमा उल्टै क्षेत्र घटाउनु दुःखद भएको उनको भनाइ छ । प्रदेश सरकारले यो निर्णय तत्काल फिर्ता नलिए कृषिमा ठूलो नोक्सानी बेहोर्नुपर्नेमा कार्कीले जोड दिए ।

कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याएको प्रदेश एक सरकारले किसानलाई प्रत्यक्ष रुपमा सेवा दिँदै आएका प्राविधिक कार्यालय समायोजन गरेको भन्दै निर्णय सच्याउन कृषि सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले सुझाव दिए । उनले भने, ‘यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले प्रदेश १ का कृषिमन्त्रीलाई फोन गरी निर्णय गलत भएकाले पुनर्विचार गर्न आग्रह पनि गरिसकेको छु ।’ मन्त्रालयको संख्या बढाएपछि लेखा र प्रशासनको कर्मचारी अभाव भएकाले प्रदेशअन्तर्गतका दुईवटा कार्यालय खारेज र कृषिअन्तर्गतका फार्म क्षेत्रका पाँचवटा कार्यालय प्रदेश सरकारले समायोजन गरेको छ ।

प्रदेश सरकारले सातबाट बढाएर मन्त्रालयको संख्या १३ पु¥याएको छ । तर, प्रदेश मातहत रहेका कृषि क्षेत्रको फार्म केन्द्रअन्तर्गतका आठवटा कार्यालयमध्ये पाँचवटा सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रमा समायोजन गरेको छ । प्रदेश सरकारले बागबानी केन्द्र जौवारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गालाई कृषि ज्ञान केन्द्र झापामा समायोजन गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया