Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयुक्रेनमा रहेका नेपालीहरूको उद्धारकार्य जारी

युक्रेनमा रहेका नेपालीहरूको उद्धारकार्य जारी


काठमाडौं । रुस–युक्रेनको द्वन्द्वको मारमा परेका नेपालीहरूलाई युक्रेनबाट सुरक्षित ठाउँमा पु-याउन सहजीकरण गर्ने कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेका छन् । मन्त्रालयले एक विज्ञप्ति जारी गरी शुक्रबारसम्म पाँच सय ११ जना नेपालीहरू युक्रेनबाट सीमावर्ती मुलुकहरूमा पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा छ तथा मोल्दोभामा चार जना नेपालीहरू प्रवेश गरिसकेका छन् । उद्धारकार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । नेपाली राजदूतावास, बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मकरूपमा सुरक्षित रहेको पश्चिम क्षेत्रतर्फ जाँदै छन् भने केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा छन् । युक्रेनको सीमामा रहेका मोल्दोभा, रोमानिया, हंगेरी, स्लोभाकिया र पोल्यान्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकहरूको सुरक्षित आगमनमा सहयोग गरिदिन नेपाल सरकारका तर्फबाट अनुरोध भइसकेको पनि मन्त्रालयले जनाएको छ । सरकारको आग्रहअनुरूप ती सबै राष्ट्रहरूबाट सहयोग प्राप्त भएको मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्धार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सम्मिलित एक कार्यसमिति क्रियाशील छ । नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको मन्त्रालयले जनाएको छ । बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का पोल्यान्ड–युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षित प्रस्थानमा सहयोग पु-याउन पोल्यान्ड खटिएका छन् । युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरूमार्फत ल्याइदिन भारत सरकारलाई अनुरोध गरिएकोमा सकारात्मक जवाफ प्राप्त भएको मन्त्रालयको भनाइ छ । सो सहयोग उपयोग गर्न बर्लिनस्थित नेपाली राजदूताबासबाट ती मुलुकहरूमा रहेका भारतीय दूतावासहरूसँग समन्वय भइसकेको पनि बताइएको छ ।

यस्तै रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरूलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको मन्त्रालयले जनाएको छ । नेपाल सरकारले युक्रेनबाट आई युरोपका विभिन्न देशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन आवश्यक सहयोग र सहजीकरण गर्ने बताइएको छ ।

त्यस्तै, त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्कन सहयोग पु-याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । स्वदेश फर्किन इच्छुक सबैलाई नेपाली राजदूतावास, बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईँलाई फोन नम्बर +४९१७०९८०८०६३ तथा अनबर्लिन एट मोफा डट जीओभी डट एनपीमा नाम टिपाउन सकिन्छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया