Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहलेसीको जग्गा स्थानीयले नछोड्दा गुरुयोजना निर्माणमा समस्या

हलेसीको जग्गा स्थानीयले नछोड्दा गुरुयोजना निर्माणमा समस्या


खेमराज अधिकारी
खोटाङ, माघ २९
खोटाङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जग्गामा स्थानीयवासीले कब्जा जमाएको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानस्थित हलेसी (हलेश्वर महादेव), माल्कु, गैरीगुठ, डाँडागुठलगायतको जग्गामा स्थानीयवासीले कब्जा जमाएको पाइएको हो ।

हलेसी क्षेत्रको जग्गा स्थानीयवासीले कब्जा गरेपछि हलेसीको चौतर्फी विकासमा लागि तयार गरिएको हलेसी गुरुयोजना निर्माणमा समस्या आएको नगरप्रमुख इवन राईले बताए । राईका अनुसार हलेसीको बृहत् गुरुयोजनामा हलेसी गुफा आसपासका दुई मिटर वर्गाकार क्षेत्रभित्रको जग्गा आवश्यक पर्छ । स्थानीयले अतिक्रमण गरेको हलेसीको जग्गा नछोड्दा गुरुयोजना निर्माणमा अवरोध भएको छ ।

२०४४ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणको बेला गुरुयोजना बनाएर निश्चित क्षेत्रभित्र भएका विभिन्न आठवटा घर तथा घडेरीलाई मुआब्जा उपलब्ध गराइएको हलेसी विकास समितिका निर्देशक समरबहादुर भुजेलले जानकारी दिए । यद्यपि स्थानीयवासीले जग्गाको मुआब्जा लिएर पनि अहिलेसम्म घरजग्गा खाली गर्न आनाकानी गरिरहेका छन् ।

हलेसीको चौतर्फी विकासका लागि नगरपालिकाको पहलमा विसं २०७५ जेठदेखि थालिएको गुरुयोजनाको कामलाई केही हप्ताअघि मात्र अन्तिम रूप प्रदान गरिएको छ । हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुरुयोजना निर्माण गरिएको गुरुयोजना निर्माण समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । हलेसी मन्दिर र आसपासमा रहेका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिएको हो । गुरुयोजना निर्माण भएसँगै हलेसी मन्दिरको केन्द्रबाट दुई मिटर वृत्ताकार क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्ने, हलेसीको २६ रोपनी जग्गाभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएको छ ।

हलेसी धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यले पनि उचिकै प्रख्यात छ । हलेसीलाई मध्यपहाडी लोकमार्गले राष्ट्रिय सडक सञ्जालसँग जोडेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । काठमाडौँ, पोखरा तथा तराईका जिल्लाहरूमा सिधा यातायातको पहुँच विस्तार भएसँगै ती स्थानहरूबाट ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक,साँस्कृतिक तथा पर्यटकिय स्थलको रूपमा परिचित हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया