Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने


काठमाडौं । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।

मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले जानकारी दिए । कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना संकलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जनाएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ ।

यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए । दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ । नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०ः३०, अपराह्न २ः३० र साँझ ७ः३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ ।

स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशिला भएकाले स्थानीय तहको निर्वाचन इमानदारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ । नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार तीन सय पर्यवेक्षक खटाउने भएको छ । पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

नियोकले मंगलबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको जनाएको छ । निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्मरूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया