Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधघरेलु लघुवित्तको क्षमता अभिवृद्धि तालिम

घरेलु लघुवित्तको क्षमता अभिवृद्धि तालिम


काठमाडौं, फागुन ५
घरेलु लघुवित्तद्वारा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । काभे्रपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्नो फिल्ड सहायकस्तरीय कर्मचारीहरूको सहभागितामा माघ २५ गते काठमाडौँ जिल्लाको महांकालमा बागमती र गण्डकी प्रदेशअन्तर्गतका शाखा कार्यालयमा कार्यरत फिल्ड सहायक कर्मचारीहरूलाई ‘फिल्ड सहायकस्तरीय क्षमता अभिवृद्धि तालिम’ सम्पन्न गरेको संस्थाका जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिपकुमार घिमिरेले जानकारी दिएका छन् ।

संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरूमा १३ शाखा कार्यालयहरूमार्फत २०७६ पुस मसान्तसम्ममा पाँच हजार दुई सयभन्दा बढी घरपरिवारहरूमा लघुवित्तीय सेवा विस्तार गरी तीन करोडभन्दा बढी निक्षेप संकलन गर्दै २६ करोडभन्दा बढी लगानी गरी सञ्चालन मुनाफा १२ लाख ६८ हजार गर्न सफल भएको छ । तालिमका सहभागीहरूलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका थिए ।

यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिमसम्बन्धी आवश्यक जानकारीहरूको बारेमा विभागीय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालनसम्बन्धी आवश्यक जानकारीहरूको बारेमा विभागीय प्रमुख प्रदिपकुमार घिमिरे, लेखा तथा योजनासम्बन्धी आवश्यक जानकारीहरूको बारेमा विभागीय प्रमुख अन्जना प्याकुरेल, सूचना प्रविधि, कर्जा सूचनासँग सम्बन्धित आवश्यक जानकारीहरूको बारेमा रोशनि श्रेष्ठ तथा वर्तमान अवस्थामा लघुवित्त कार्यक्रममा शाखा कार्यालयले अपनाउनुपर्ने साबधानीको बारेमा शाखा प्रबन्धक तुल्सीराम भट्टराईले सहजीकरण गरेका थिए ।

सोही क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरू हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो । अन्त्यमा सहभागीहरूको जिज्ञासाहरूको सम्बोधन गर्दै तालिमको समापन मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले दिएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया