Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको थालनी

पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको थालनी


काठमाडौं । ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल निर्माणको कार्य, खानेपानीका पाइपलाइन बिच्छ्याउने कार्य र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने कार्य एकीकृतरूपमा गरी एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना कामको थालनी गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)बाट मेलम्ची खानेपानीका पाइपलाइनहरू बिच्छ्याउने कार्य, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाबाट ढलका पाइप बिच्छ्याउने कार्य, नेपाल विद्युत् प्राधिकरणबाट विद्युत्का तारहरू भूमिगत गर्न पाँचवटा एचडीपीई पाइप बिच्छ्याउने कार्य र नेपाल टेलिकमबाट टेलिकमका लाइनहरू भूमिगत गर्न डक्टहरू बिच्छ्याउने कार्य पाटन क्षेत्रमा एकीकृतरूपमा भइरहेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा वर्षाको पानी र ढलको उचित व्यवस्थापन नभएका कारण देखिएका समस्याको समाधानका लागि ललितपुर महानगरपालिकाका प्रमुखको विशेष पहलमा पाटन दरबार क्षेत्रको पौराणिकता तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राखी युनेस्कोको मापदण्डमा रहेर आधुनिक यन्त्र उपकरणको प्रयोग नगरीकनै सम्पदा निर्माणसम्बन्धी तालिमप्राप्त जनशक्तिबाट हातेऔजार मात्र प्रयोग गरी ढल निर्माणकार्य हुँदै आएको छ ।

पाटन दरबार क्षेत्रबाहेकका अन्य स्थानमा भने आधुनिक मेसिन औजार प्रयोग गरेर ढल निर्माण कार्यलाई तदारूकताका साथ अगाडि बढाइएको पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए । उनका अनुसार विगतका वर्षहरूमा वर्षातको समयमा पानी पर्दा पाटन दरबार स्क्वायर क्षेत्र र अन्य आसपासका सडकहरू जलमग्न हुने तथा प्लास्टिकलगायतका ठोस पदार्थहरू ढल तथा मङ्गालमा जम्मा भई ढल जाम हुँदा सडक भएरै ढल बग्ने समस्याको समाधान गरी पर्यटक तथा सर्वसाधारणको आवतजावतलाई सहज तुल्याउनुका साथै पाटन क्षेत्रलाई स्वच्छ एवं सफा राख्ने उद्देश्यले ढल निर्माणकार्यलाई तीव्रता दिइएसँगै हाल झण्डै ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

यसअन्तर्गत इटिटोलदेखि सोथः सम्म तथा लगनखेलदेखि पाटन दरबार क्षेत्र र सोथः हुँदै शङ्खमूलसम्म २ दशमलव ८ किलोमिटर क्षेत्रमा एक हजार चार सय एमएम (आरसीसी) र एक हजार एमएम (डबल वाल कोरोगेटेड– डिडब्लुसी) मोटाइका पाइप बिछ्याएर शङ्खमूलको वाग्मती नदी किनारस्थित ढल सञ्जालमा लगेर जोडिनेछ । यी पाइपबाट प्रवाह हुने फोहोर पानी धोवीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी नदी खोलामा स्वच्छ एवं सफा पानी प्रवाह गरिनेछ भने आकाशे पानी ओभरफ्लो संरचनाबाट बाइपास गरी बागमती नदीमा मिसाइनेछ ।

एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानी गरी करिब ४८ करोड रूपैयाँको कुल लागत रहेको ढल निर्माणकार्य आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया