Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमेची–काली अभियानमा ८० लाख संकलन

मेची–काली अभियानमा ८० लाख संकलन


महेन्द्र शाही
सोलुखुम्बु, फागुन ६
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित सोलुखुम्बु बहुमुखी क्याम्पसद्वारा सञ्चालित मेची–काली विश्व अभियानका लागि करिब ८० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । एक वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त अभियानको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ८० लाख २२ हजार ४ सय ३९ रुपैयाँ क्याम्पसको खातामा जम्मा भइसकेको जानकारी दिए ।

अभियानमा हालसम्म एक हजार नौ सय तीन जनाले सहभागिता जनाएका छन् भने धेरैले प्रबिद्धता जनाएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नगरपालिकाको तर्फबाट अभियानलाई ३० लाख रुपैँया सहयोग हस्तान्तरण गर्दै क्याम्पसले प्राविधिक शिक्षा दिएर शैक्षिक बेरोजगारको न्यूनीकरणका लागि सहयोग गर्ने बताए । सोही अवसरमा व्यक्तिगत रुपमा उद्योग व्यवसायी तथा कांग्रेस नेता प्रकाशसिंह कार्कीले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा सबैभन्दा ठूलो रकम दिने, धेरै जनसहभागिता गराउने र धेरै रकम संकलन गर्ने तीन/तीन जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । क्याम्पस सञ्चालक समितिका सदस्य आङगेलु शेर्पाले बदलिँदो परिस्थितिअनुसार शैक्षिक जनशक्ति उत्पादन गर्न नसक्दा बेरोजगारी समस्या बढेको भन्दै श्रम बजारको मागअनुसार जनशक्ति उत्पादन गर्ने शिक्षा सञ्चालन गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्यले पवित्र उद्देश्यले सञ्चालन भएकाले सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै प्रशासनले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । क्याम्पसको रजत महोत्सवको अवसरमा गत वर्षबाट सुरु भएको अभियानबाट एक अर्ब रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएको छ । क्याम्पस प्रमुख शर्माले विश्वको शैक्षिक हब बनाउने भन्दै सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको हैसियतमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार सहयोग जुटाउने क्रम स्वदेश तथा विदेशमा निरन्तर भइरहेको र लाखौँको प्रतिबद्धता आइरहेको छ ।

आगामी पाँच वर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघ/संस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने लक्ष्य रहेको क्याम्पसले जनाएको छ । क्याम्पसले ट्राभल्स, टुरिज्म र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्नसहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । उच्च प्राविधिक शिक्षाको मूलधारमा आउन नसकेका, जेहेन्दार, जनजाति, दलित, गरिब, महिला र अपाङ्गता भएकाहरुलाई वार्षिक पाँच लाख छात्रवृत्ति वितरण गरी उच्च प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर दिने क्याम्पसले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया