Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल न्यून

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल न्यून


सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सोलुखुम्बुको खुम्बु क्षेत्र यतिखेर सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै पर्यटकीय गन्तव्य खुम्बु क्षेत्र सुनसान हुनपुगेको हो । मार्च महिनाको दोस्रो साताबाट सुरु हुने पर्यटकीय ‘सिजन’मे अन्तिम साताबाट कम हुँदै जाँदा उक्त क्षेत्र सुनासान भएको सरोकारावालाहरू बताउँछन् ।

खोम्बु क्षेत्रमा हिमाल, अग्लो पहाड तथा रमरणीय तथा शान्त दृश्य, स्थानीय परिवेश, पैदलयात्र गर्नका लागि पर्यटकहरू आउने गरेका छन् । घुमघामको लागि सिजनमा हजारौँको संख्यामा पर्यटक आउने गरेकोमा सिजन सकिएसँगै पर्यटकको संख्यामा कमी आउने गरेको छ । पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू ‘सिजन’ सकिएसँगै सुनसान बनेको हो । पर्यटनको मध्य ‘सिजन’मा एकै पटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौधौ परेका यहाँका होटल व्यवसायीहरूलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटल व्यवसायी दामु शेर्पाले बताइन् । उनी भन्छिन्– ‘सिजनमा खाने फुर्सद हुँदैन हाम्रो, त्यतिखेर विदेशीकोे स्वागत सत्कारमा नै हामी भ्याईनभ्याई हुन्छौँ, अब अहिले दिन प्रतिदिन पर्यटकहरू आउने क्रम घट्दै छ त्यही भएर अहिले आराम गर्ने, घुमफिरमा जाने गरेका छौँ ।’

केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्रमा अहिले त्यो दृश्य देख्न सकिँदैन । ‘सिजन’मा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । ‘उनले भने, सिजन सकिएसँगै यतिखेर खुम्बुवासी बाहिरी जिल्ला परिवार लिएर घुमघाममा निस्कछ, साथै पूजापाठ गर्नमा पनि व्यस्त हुनेगरेको छ । ‘सिजन’मा अत्यन्तै चाप हुने भएकाले ‘सिजन’ सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालकहरू बाहिर निस्कने गरेका छन् । यस क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले ‘सिजन’ सकिएसँगै उनीहरू फुर्सदिला बनेका हुन् । ‘सिजन’मा कडा मिहिनेत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमणलगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषता जस्तै बनेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय भन्छन् ‘सिजन’मा दैनिक सात सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटकहरूको संख्या नगन्य मात्रामा नै रहेको छ । पर्यटकको अवगमन न्यून भएसँगै निकुञ्ज चेकपोस्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ । हाल पर्यटक नै नआउने भने होइन न्यून संख्यामा आउने हुँदा कर्मचारी तथा स्थानीयहरू अन्य काममा लाग्ने गरेका छन् । स्थानीयहरू भने पर्यटक आगमन कमी आएसँगै कृषि कार्य तथा आफ्नो दैनिकीमा व्यस्त हुनेगरेका छन् ।

आगामी वर्षहरूमा भने खुम्बु क्षेत्रमा पर्यटक ह्वात्तै बढ्ने बताइएको छ । कोभिड १९ का कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आउँदा त्यसको असर खुम्बु क्षेत्रमा परेको यस क्षेत्रका पर्यटन व्यवसायीहरूको धारणा रहेको छ । कोभिड १९ र रसिया–युक्रेन युद्धले खुम्बु पर्यटन क्षेत्र प्रभावित बनेको छ, भोलि अवस्था सामान्य भएपछि पर्यटकको संख्या वृद्धि हुनेछ, जसले यहाँको अर्थतन्त्र थप सुदृढ हुँदै जाने उनीहरूको भनाइ छ । खुम्बु क्षेत्रको मुख्य पेसाको रूपमा हेरिँदै आएको पर्यटनले दिशा लिँदा यस क्षेत्रका नागरिकहरू लाभान्वति हुनेगरेको पाइन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया