Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतामाकोशी गाउँपालिकाद्वारा स्थायी केन्द्र राख्न जग्गा माग

तामाकोशी गाउँपालिकाद्वारा स्थायी केन्द्र राख्न जग्गा माग


दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले स्थायी केन्द्र राख्नको लागि जग्गामा माग गरेको छ । स्थायी केन्द्र राख्नको लागि जग्गा अभाव भएको भन्दै पालिकाले ५० रोपनी जग्गा दानस्वरूप माग गरेको हो ।

हाल गाउँपालिकाले अस्थायी केन्द्रमा घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको छ । गाउँपालिकाले स्थायी केन्द्र तोक्नको लागि ५० रोपनी जग्गा आवश्यक पर्ने जनाएको छ । गाउँपालिले वडा नम्बर ३ र ४ को सिमाना आसपासमा जग्गा उपलब्ध भए सोही ठाउँलाई स्थायी केन्द्र तोक्ने जनाएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकमा तत्काल स्थानीय केन्द्र राख्नको लागि जग्गा माग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिए । केसीका अनुसार पालिकाको वडा नम्बर ३ चनौटेदेखि वडा नम्बर ४ मालुको अन्तिम सिमानासम्म तीन सय मिटर तलमाथि ५० रोपनी जग्गादान गर्नको लागि माग गरिएको हो । स्थानीयलाई जग्गा उपलब्ध गराउन तीन साताको समय दिइएको छ । सडकको पहुँच पुगेको र सबैलाई पायक पर्ने स्थानको अवस्था हेरेर जग्गादान गर्न इच्छुक स्थानीयसँग जग्गादान गर्न माग गरिएको अध्यक्ष केसीको भनाइ छ । हाल वडा नम्बर ३ को जामुने भन्ने ठाउँमा अस्थायी केन्द्र रहेको छ ।

पालिकाको स्थायी केन्द्र आफ्नो वडामा राख्नको लागि वडा नम्बर ३ र ४ का स्थानीय र जनप्रतिनिधिबीच विगत लामो समयदेखि रस्साकस्सी चल्दै आएको छ । अस्थायी केन्द्र भएकै ठाउँमा स्थायी केन्द्र राख्न वडा नम्बर ३ का स्थानीयले माग गर्दै आएका छन् भने सबैलाई पायक पर्ने ठाउँ मालुको डाँडागाउँ आसपास रहेकाले सोही ठाउँमा केन्द्र राख्नुपर्ने वडा नम्बर ४ का स्थानीयको माग छ । यसैगरी वडा नम्बर १, २ का स्थानीय पनि हालको अस्थायी केन्द्रलाई नै स्थायी केन्द्र तोक्नुपर्ने बताउँदै आएका छन् भने वडा नम्बर ५, ६ र ७ का स्थानीय मालुमा केन्द्र तोक्नुपर्ने बताउँदै आएका छन् । दुईटा वडाले केन्द्र आफ्नो वडा चाहिन्छ भने पनि अन्य वडाले केन्द्र माग नगरेकाले पालिकाको केन्द्र चाँडै तोकिने अध्यक्ष केसीले बताए ।

यसअघिको जनप्रतिनिधिले पालिकाको स्थायी केन्द्र टुंगो लगाउन नसकेर अस्थायी केन्द्रलाई मान्यता दिएर कामकाज सुरु गरेको कारण अब स्थायी केन्द्र तोक्न दुई तिहाई कार्यपालिका सदस्यको आवश्यक पर्छ । दुई तिहाई मत पु-याएर मालु केन्द्र तोक्न सहज नरहेको वडा नम्बर तीनका वडाध्यक्ष रामप्रसाद काफ्ले बताउँछन् । गाउँपालिका प्रमुख केसीले भने सबैको सर्वसहमतिमा केन्द्र तोकिने बताउँदै आएका छन् । स्थायी केन्द्र राख्नको लागि मालुको डाँडागाउँमा जग्गा प्राप्त हुने पक्कापक्की भएपछि गाउँपालिकाले जग्गादान गर्न आह्वान गरेको हो । वडा नम्बर ३ जफेमा गाउँपालिकाले मागेको ५० रोपनी जग्गा उपलब्ध गराउन गाह्रो रहेको र मालुमा जग्गा पाउने लगभग सुनिश्चितता भएपछि पालिकाले चलख्याइँ गरेर जग्गादान गर्न माग गर्ने निर्णय गरेको हो ।

यस्तै कार्यपालिकाको बैठकले अघिल्लो स्थानीय सरकारको पालामा निर्माण सुरु गरिएका महत्वपूर्ण योजनालाई निरन्तरता दिने, गाउँका जनताको जीवन उकास्न कृषिमा अनुदान दिएर आत्मनिर्भर बनाउने, प्रत्येक वडामा कृषि सहकारी स्थापन गरेर किसानलाई आर्थिक संकलनको माध्यम कृषि सहकारी बनाउने निर्णय गरेको छ । यस्तै गाउँपालिकाले कृषि समूह, फार्ममार्फत अनुदान दिएर कृषकलाई उत्पादनमुखी बनाउन, पालिकाभित्रको शिक्षामा थप गुणस्तर ल्याउने, सडकको स्तरोन्नति गर्ने, खानेपानीको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यसैगरी गाउँपालिकाले कक्षा एकदेखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्तिस्वरूप मासिक एक सय रूपैयाँ बचत गरिदिने भएको छ । गाउँपालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई राहत होस् भन्ने उद्देश्यले विद्यार्थीकै नाममा पालिकाभित्र रहेका सहकारी, बैंकमा खाता खोलेर रकम जम्मा गरिदिने निर्णय गरेको उपाध्यक्ष सिर्जना सुवेदीले बताइन् । सहकारी बैंकलगायतका वित्तीय संस्थाहरूमा बचतखाता खोली अभिभावकले मासिक एक सय बचत गरेको प्रमाणित रसिद पेस गरेपछि गाउँपालिकाले सोही खातामा एक सय रूपैयाँ बचत गरिदिनेछ । उक्त खाताबाट विद्यार्थीको पढाइ १२ कक्षा पूरा नभएसम्म बचतबाहेक अरु कुनै कारोबार गर्न नपाइने पालिकाले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि सहयोग पु-याउने उद्देश्यका साथ पालिकाले यो अभियानको सुरु गरेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया