Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभाग


सिन्धुपाल्चोक । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको छ भने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम धेरै रहेको बताइसकेको छ । तर, प्राकृतिक विपत्को चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपत्पूर्वको तयारीमा सरकार जिम्मेवार देखिँदैन । चुनाव जितेका जनप्रतिनिधि अहिलेसम्म बधाई थाप्नमै व्यस्त रहेका छन् । अघिल्लो वर्ष पहिरोबाट जोगिएकाहरू मनसुन सुरु भएसँगै यसपटक फेरि त्रासमा परेका छन् ।

जोखिममा रहेका बस्तीका परिवार बर्खा लाग्नुअगावै सुरक्षित ठाउँमा जान चाहन्थे । तर, बस्ती स्थानान्तरणको काममा ढिलासुस्ती हुँदा यो बर्खामा फेरि मानवीय क्षति हुनसक्ने खतरा देखिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूगर्वविद्सहित सिन्धुपाल्चोकका दुई सय ५० बस्तीको अध्यन गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो । सिन्धुपाल्चोकका १२ बस्ती तत्कालै सार्नुपर्ने खालका छन् । बाँकी २० बस्ती असुरक्षित रहेका छन् । एकपछि अर्काे प्राकृतिक विपत्ति भोग्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ, तर सोहीअनुसार काम हुन सकेको छैन । नागरिक जोखिमयुक्त बस्तीमा ज्यानको बाजी राखेर बस्न बाध्य रहेका छन् ।

बाह्रबीसे, मेलम्ची नगरपालिका, भोटेकोशी, जुगल, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका पहिरो र बाढीका हिसाबले अत्यधिक जोखिममा छन् । नागरिक चिरा र धजा फाटेको जमिनमा जीवन बचाउन याचना गर्दै बसेका छन्, तर विपत् व्यवस्थापन प्राधिकरणबाट विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्नलाई आएको ३४ करोड रकम काम गर्न नसकेर यही आर्थिक वर्षमा अर्थ मन्त्रालयमा फिर्ता भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी वेधनिधि खानाल जनशक्ति नहुँदा सोचेजस्तो काम गर्न नसकेको बताए ।

२०७१ सालको जुरे पहिरोदेखि सिन्धुपाल्चोकमा सुरु भएको प्राकृतिक विपत्ति हालसम्म पनि रोकिएको छैन । ६ वर्षदेखि भएको लगातारको प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै ३७ सय ९० को मृत्यु भइसकेको छ । अझै पनि ३७ जनाको अवस्था अज्ञात रहेको छ । प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै अर्बौँको क्षति भइसकेको छ । यसपटकको मनसुनबाट हुनसक्ने क्षति कम गर्न सिन्धुपाल्चोकमा तयारी भएको देखिँदैन । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया