Techie IT
×
गृहपृष्ठबिबिध‘भगवान्को सहारामा छ, कुतियाकवरको बस्ती’

‘भगवान्को सहारामा छ, कुतियाकवरको बस्ती’


दोधारा । दोधारा चाँदनी–१० कुतियाकवरकी मायादेवी सुनारलाई आजभोलि रातमा निन्द्रा नै पर्दैन । वर्षाको समय आयो, गएको बाढीमा सुरक्षाकर्मी र स्थानीयहरूले घरभित्रबाट उद्धार गरेको उनले अहिलेसम्म बिर्सेकी छैनन् । मायादेवी सुनार उनका छोरी आरतीलाई समयमा उद्धार टोली नआएको भए बाढीले डुबाउने थियो । यस पटक भने झनै ठूलो बाढी आउने पिरले उनको मन साह्रै चलमलाएको छ । कतिबेला बाढी आउँछ, घरसँगै आफूहरूलाई बगाउँछ भन्ने चिन्ता उनमा छ । विगतका दिनमा महाकाली नदीको भँगालो उनको बस्तीमा पसेर घरमा भएका रासन, लत्ताकपडा, भाँडाकुँडा बगाउँदाको दिन उनलाई झल्झल्ती अझै पनि याद छ ।

उनको घरनजिकै महाकाली र जोगबुडा नदीको दोभानको किनारमा छ । आकाशमा कालो बादल लागेको निन्द्रा पनि उडेर जान्छ, मायादेवीको । पछिल्लो समय आएको बाढीले घरमा भएको अन्नपात बगाएर लगेपछि उनी बाढीबाट त्रसित हुँदै आएकी हुन् । मायादेवी भन्छिन्– ‘आकाशमा कालो बादल मडारिएपछि रातभरि निन्द्रा लाग्दैन, छोरी पनि सुत्दैनन् बाढीले लैजान्छ कि, भन्ने डर मात्रै हुन्छ ।’ विगतमा बाढीले उनको घरमा भएको सारा कुरा बगाई लगेको कारण महिनौँ दिनसम्म घरछेउमा पाइने एक छाक घाँस पकाएर उनी र उनकी छोरीले दिनचर्या बिताएको बिर्सन सकिरहेका छैनन् । महाकाली नदी र जगबुडा नदी नियन्त्रणको लागि पक्की तटबन्ध बनाउने नेताहरूले आश्वासन दिए पनि अझैसम्म तटबन्ध बनाउने कुनै सुरसार छैन ।

महाकाली नदीको दिशा बस्तीतर्फ सोझिएको हुँदा बस्ती नै तहसनहस हुने संकेत देखिएको छ । नदी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले थोरै रकम पनि विनियोजन नगरेको स्थानीयहरूको गुनासो छ । कुतिकवरकी मायादेवीलाई मात्रै होइन, अहिले कुतियाकवर बस्तीका ४० घरपरिवारलाई पानी परेको बेला रातमा निन्द्रा पर्दैन । दुई नदीले जोडिएको सो बस्तीमा तटबन्ध नभएको कारण नदीको भँगालो बस्तीमा पसेर बस्ती नै उजाड गर्ने प्रवल सम्भावना बढेर गएको छ ।

उक्त बस्तीमा रेडक्रस, निड्स नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) लगायत गैरसरकारी निकायले बाढी आएको बेला सहयोग सामग्री, उद्धारका लागि कार्यदलहरूलाई तालिम सञ्चालन गर्दै आएको छ । बस्तीमा बाढी पसेपछि ज्यान जोगाउन भाग्न सम्भव छैन । उनिहरू भगवान्को सहारामा वर्षायाम बिताउँछन् । ‘भगवान्को सहारामा छ, कुतियाकवरको बस्ती’ स्थानीय शिक्षक टंकलाल जोशी भन्छन् । कुतियाकवरको बारेमा जोसँग समस्या राखे पनि समस्या जस्ताको तस्तै भएको स्थानीयहरूको भनाइ रहेको छ ।

पछिल्लो समयमा आएर महाकाली नदी बस्तीतिर सोझिएको छ । गएको वर्षमा जस्तै बाढी आउने हो भने बस्ती नै तहसनहस हुने पक्का पक्की छ । नदीले बस्तीतर्फको जमिन कटान गर्दै आएको कारण बस्ती असुरक्षित छ । ‘गएको दिनहरू जस्तै बाढी आए बस्तीलाई सखाप पार्ने डर मनमा छ’, मोतिराम सुनार भन्छन्, ‘डरै डरमा बस्न बाध्य छौँ ।’ महाकाली नदी र जगबुडा नदीको तटीय क्षेत्रमा बस्दै आएका रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नं. पिल्लर गाउँ, लठ्ठाघाट, सुन्दरनगरलगायतका बस्तीहरूका स्थानीयहरूलाई बाढीको त्रासदीले सताउँदै आएको छ ।

कुतियाकवरको नेपाल–भारत सीमासँगै जोडिएको क्षेत्रका भारतीय नागरिकलाई त्यहाँको सरकारले अर्को क्षेत्रमा लगेर पुनर्स्थापना गरिसक्यो । दोधारा चाँदनीका तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरूले मन्त्री, सभासदलगायत सरोकारवाला सबैसँग नदी नियन्त्रणको माग राख्दा समेत अझैसम्म कुनै प्रकारको सुनुवाइ समेत नभएको दुखेसो उनीहरूमा छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया