Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमुलुकको अर्थतन्त्रमा महासंघका वस्तुुगत संघहरूको भूमिका महत्वपूर्ण : गोल्छा

मुलुकको अर्थतन्त्रमा महासंघका वस्तुुगत संघहरूको भूमिका महत्वपूर्ण : गोल्छा


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । महासंघका सदस्य वस्तुुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा बुधबार आयोजित कार्यक्रममा उनले उद्योग धन्दाको विस्तार, रोजगारी सृजना, पुँजी निर्माणमा संघहरुको योगदानलाई महासंघले सधैँ उच्च प्राथमिकता दिएको बताए ।

महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्ने कार्यमा पनि संघहरुको सहयोग महासंघले खोजेको उनले बताए । आफ्ना सबै सदस्यहरूसँग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गराउँदै अध्यक्ष गोल्छाले यसले लिएका लक्ष्य पूरा गर्ने कार्यमा सबैले आ–आफना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महासंघको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँट्टा उद्योग महासंघ, नेपाल अलैँची व्यवसायी महासंघ, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बीउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्ति नै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजनामा महासंघ लागिरहेको स्पष्ट पारे । निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले ती समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्रबीच एकता र सहकार्य आवश्यक भएकोमा उनीहरुले जोड दिए ।

यस्तै नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दीर्घकालीन विकासको लागि सार्क हस्तकला विकास केन्द्र सञ्चालन, महासंघले राष्ट्रिय हस्तकला विकास नीतिको मस्यौदा गरी सरकारमा प्रस्तुत गरिसकेको हुँदा सोको कार्यान्वयनमा एफएनसीसीआईबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नेपाल इँट्टा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दले लगानी र रोजगारीका हिसाबले उल्लेख्य योगदान दिएको इँट्टा उद्योगलाई राज्यले उद्योगको मान्यता दिन नसकेकोमा गुनासो गरे । ‘इँट्टा उद्योगलाई बीमा कम्पनीले पनि पत्याएनन्, सरकारले पनि प्राथमिकतामा राखेन’, उनले भने, ‘अहिले इँट्टा उद्योगमा दक्ष जनशक्तिको चर्को अभाव छ ।’ भारतबाट जनशक्ति ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले जनशक्ति विकासमा महासंघको सहयोग खोजेको उनले बताए ।

नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले आफ्नो क्षेत्रमा तालिमप्राप्त जनशक्ति नभएको तथा यसको गुणस्तर पहिचान, मार्केटिङ, प्याकेजिङ, ब्रान्डिङलगायतमा ठूलो समस्या रहेको बताए । यसका लागि सहयोग गर्न उनले आग्रह गरे । यस्तै उनले स्वदेश तथा विदेशमा आयोजना हुने मेला महोत्सवमा नेपाली अलैँचीका लागि छुट्टै स्टलको व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष रमेश थापाले कोभिडले थिलोथिलो भएको ट्राभल व्यवसायको उत्थानका लागि सहयोग गर्न आग्रह गरे । सम्पदा क्षेत्रमा सार्वजनिक सवारीसाधन निषेध गरिनुुपर्ने, पर्यटन क्षेत्रका लागि छुट्टै बसपार्कको व्यवस्था हुनुुपर्ने, महासंघको पर्यटन समितिमा पर्यटन क्षेत्रका विविध समस्याबारे नियमित छलफल गरी समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्न उनले सुझाव दिए ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुराको मासु र अण्डामा आत्मनिर्भर भए पनि दाना उत्पादनमा भने अहिले पनि अरू देशकै भर पर्नुपर्ने परिस्थिति रहेको बताए । दानाका लागि आवश्यक मकै तथा भटमासको पीनाका लागि छिमेकी देश भारत तथा अन्य राष्ट्रहरूको भर पर्नुपर्ने परिस्थिति अन्त्य गर्नुपर्ने र त्यसका लागि नेपालमा मकै र भटमास खेती विस्तारमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो ।

नेपाल चलचित्र संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठले अर्बौँको लगानी गरी हजारौँलाई रोजगारी दिइरहेको चलचित्र व्यवसायीलाई राज्यले प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै राष्ट्रिय उद्योगको मान्यता दिने कार्यमा महासंघले सहयोग गर्नुपर्ने बताए । कोभिड महामारीबाट बढी प्रभावित सूचीमा राखिए पनि राज्यले दिनुुपर्ने सुविधाबाट वञ्चित गरिएको उनको गुनासो थियो । नेपाल बीउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले नेपाललाई बीउ आत्मनिर्भर बनाउने कार्यमा संघले लागे पनि बीउ व्यवसाय ऐन २०४५ का कारण त्यो निकै कठिनाइ भएको बताए ।

ऐनका कतिपय प्रावधानका कारण व्यवसायीहरू पलायन हुनथालेको बताउँदै उनले संसदमा दर्ता रहेको बीउबीजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई जतिसक्दो छिटो पारित गर्ने कार्यमा सहयोग गर्न महासंघलाई आग्रह गरे । साथै उनले महासंघलाई नीतिगत विषयमा नियमित छलफल चलाउन पनि आग्रह गरे । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, वस्तुुगत परिषद्का उपसभापतिहरू, सदस्यहरू र उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया