Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘हामीलाई जैविक होइन, पक्की तटबन्ध चाहिन्छ’

‘हामीलाई जैविक होइन, पक्की तटबन्ध चाहिन्छ’


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्बर पिल्लरका स्थानीयहरूले महाकाली र जोगबुडा नदीबाट जोगिन पक्की तटबन्धको माग गरेका छन् । एक गैरसरकारी संस्थाले बस्ती बचाउन जोगबुडा नदीमा निर्माण गरेको जैविक तटबन्ध नदीको एकै भेलले भत्काएको बताउँदै स्थानीयले पक्की तटबन्धको माग गरेका हुन् ।

वर्षासँगै हिउँदमा समेत जोगबुडा नदीले बस्तीको जग्गा कटान गर्दै आएको भन्दै स्थानीय मायादेवी सुनारले जैविक तटबन्ध बस्तीको लागि खासै अर्थ नभएको बताइन् । सरकारको चरम लापरबाहीको कारण १८ नम्बर पिल्लर बस्ती विस्तापित हुने अवस्थामा पुगेको छ । जोगबुडा नदीको पारीको नेपाल–भारत सीमा स्तम्भसँग जोडिएको सीमा क्षेत्रमा अवस्थितको अठार नम्बर पिल्लर बस्ती नदी कटानीदेखि भारतीयहरूको हेपाहा समस्या खेप्दै आएका छन् ।

जोगबुडा नदीले उनीहरूको जग्गा कटान गरेर घरछेउ पुग्न थालेपछि उनीहरू विस्थापित हुने अवस्थामा पुगेका हुन् । यस बस्तीमा नौ घरधुरी रहेका छन् । उक्त बस्तीमा झण्डै दुई सय बिघा जग्गा रहेको स्थानीय डम्मरी ओलीले बताए । अन्य जग्गाधनीको घर जगबुडा नदीको वारि रहेको छ । उनीहरू खेतीपाती गर्न मात्रै अठार नम्बर पिल्लर बस्तीमा जाने गरेका छन् । अठार नम्बर पिल्लर बस्तीमा विस्थापितपछि बाँकी रहेका नौ घरधुरीको अवस्था दिनदिनै बिजोग बन्न थालेको छ । अझैसम्म उनीहरूले विद्युत् सेवा समेत पाएका छैनन् ।

पक्की तटबन्ध निर्माण नभए अठार नम्बर पिल्लर बस्ती विस्थापित हुने पक्का छ । यहाँका नौ घरपरिवारको अन्य ठाउँमा जग्गा नभएको कारण अन्य ठाउँमा समेत स्थानान्तरण हुन सकेका छैनन् । विगतमा दर्जनौँ घरहरू रहेको यस बस्तीमा जगबुडा नदीले वर्षैपिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर नौ घरपरिवारमा सीमित भएको ओली बताउँछन् ।

करिब ४० परिवार अठार नम्बर पिल्लरवारिको बस्तीमा बसोबास गर्दै आएका छन् । सिमा स्तम्भसँग जोडिएको जगबुडा नदीको पारीको बस्तीमा नेपाल सरकारको नागरिकता र एक झोलुङ्गे पुलबाहेक केही छैन । उनीहरूको सबै थोकमा भारतीय बजारसँग सम्बन्ध छ । नानीहरूको पठनपाठनदेखि लिएर गाउँ, बस्तीमा हुँदै आएको झै–झगडाको भएपछि भारतीय पञ्चायतमा उनीहरू धाउने गर्दछन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया