Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसूचना प्रविधि (आईटी) पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह

सूचना प्रविधि (आईटी) पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको आग्रह


कञ्चनपुर । नेपाल उद्योग परिसंघले भारत, फिलिपिन्सलगायतका मुलुकले दिएजस्तो सुविधा दिएर सूचना प्रविधि (आर्ईटी) पार्क बनाउन निजी क्षेत्रलाई दिन सरकारसँग आग्रह गरेको छ ।

परिसंघले सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने अवसर राज्यलाई रहेको भन्दै सूचना प्रविधिको निर्यातमा शतप्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एडिसन) हुने भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै आगामी वर्षको बजेटमा विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी दुई करोड रूपैयाँ कायम गर्ने घोषणा गरिएको भन्दै चेम्बरले यस्तो सीमा सूचना प्रविधिको क्षेत्रमा राख्न नहुने सुझाव पनि दिएको छ ।

सूचना प्रविधि क्षेत्रमा अटोमेटिक रुटमार्फत वैदेशिक लगानी ल्याउन मिल्ने व्यवस्था गर्न परिसंघले आग्रह गरेको छ । परिसंघको आईटी काउन्सिलले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा. बैकुण्ठ अर्याललगायतसँग सोमबार सूचना प्रविधि क्षेत्रको विषयमा छलफल गरेको थियो ।

उक्त कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको र यस क्षेत्रको प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक भए सुधार गर्न सरकार तयार रहेको बताए । सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न, यसबाट रोजगारी अभिवृद्धि गर्न एवं लगानीकर्तालाई सहज वातावरण बनाउन मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा रहेको दक्ष जनशक्ति, विद्युत्, मौसमलगायतका दृष्टिकोणले सूचना प्रविधिको विकासका लागि नेपाल उपयुक्त ठाउँ रहेको परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए । हाल नेपालमा भएको विदेशी मुद्रा सञ्चिति समस्या पनि यस क्षेत्रमार्फत समाधानमा मदत मिल्ने उनको भनाइ थियो ।

परिसंघको आईटी काउन्सिल संयोजक दिलिप अग्रवाल र सूर्य नेपालका रवि कुमार रायवरमले नेपालमा सूचना प्रविधि क्षेत्रको अवसर, थप सुधार गर्नुपर्ने नीतिगत व्यवस्था, सूचना प्रविधि क्षेत्रमा अन्य मुलुकले दिएका सुविधा एवं सहुलियतलगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

नेपालले तीन अर्ब ३० करोड अमेरिकी डलरबराबर सूचना प्रविधि निर्यात गर्नसक्ने सम्भावना आकलन गरिएको छ । नेपालमा हरेक वर्ष सात हजार पाँच सय विद्यार्थी आईटी क्षेत्रमा उत्पादन भइरहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया