Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर

पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर


काठमाडौं । पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ । तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले पछिल्लो समय पुरुषहरुमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिनथालेको उल्लेख गर्दै सचेत हुन आग्रह गरेकी छिन् ।

‘विशेष गरी ६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमूहका पुरुषहरुमा ब्रेस्ट क्यान्सरको समस्या देखिने गरेको छ’, उनले भनिन्, ‘पछिल्लो समय १०० ब्रेस्ट क्यान्सरबाट पीडित महिला भेटिँदा एक जना सोही समस्याबाट पीडित पुरुष बिरामी समेत भेटिन थालेको छ ।’ डा. कार्कीका अनुसार पुरुषहरुको स्तन छेउछाउ सानोतिनो घाउ आउँदा, निप्पलबाट पानीमिश्रित रगत वा पिप बग्न थाल्दा, रातो रातो गिर्खा निस्किँदा पुरुषहरुले सचेत हुनुपर्छ ।

ब्रेस्ट क्यान्सरबाट पीडित पुरुषहरुको निप्पल पनि महिलाको जस्तै भित्रतिर तानिन थाल्छ । गाँठागुँठी आउँदा दुख्दैन । ‘धेरैजसो पुरुषहरु स्तन वरपर बिबिराजस्तो आयो, रातो भयो भने छालाको एलर्जी भनेर छालारोग विशेषज्ञसम्म पुगिरहनुभएको हुन्छ । तर त्यस्तो लक्षण क्यान्सरको पनि हुनसक्छ’, डा. कार्कीले थपिन्, ‘स्तन वरपर हुने इन्फेक्सनलाई साधारण ठानेर बस्नु भएन । क्यान्सर विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।’

कतिपय पुरुषहरुमा स्तन छेउछाउ काखीतिर, घाँटीको भाग र केही तल गाँठागुँठी आयो र त्यो बढ्दै गयो भने त्यसलाई समेत ब्रेस्ट क्यान्सरको लक्षण मान्न सकिन्छ । डा. कार्कीका अनुसार धेरै मोटो व्यक्ति, जंकफूड बढी मन पराउने, अनहेल्दी फूड प्रयोगमा जोड दिने, धूमपान गर्ने, बढी मदिरा सेवन गर्ने पुरुषहरुमा ब्रेस्ट क्यान्सर हुनसक्छ । तसर्थ, यस्ता फुडहरुबाट टाढै बसी स्वस्थकर जीवनशैली र खानपान अपनाउनुपर्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया