Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकञ्चनपुरको मझगाउँ एयरपोर्टको घेराबार निर्माण सुरु

कञ्चनपुरको मझगाउँ एयरपोर्टको घेराबार निर्माण सुरु


धनबहादुर जप्रेल
महेन्द्रनगर, फागुन ८
विगत लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँँ विमानस्थलको घेराबारको काम सुरु गरिएको छ । विमानस्थलको घेराबार निर्माण कार्य सुरु भएपछि स्थानीय बासिन्दा विमानस्थल सञ्चालन हुनेमा आशावादी बनेका छन् ।
एयरपोर्टको घेराबारका लागि सांसद कोष र भीमदत्त नगरपालिकाले जम्मा ७० लाख बजेट छुट्याएको थियो । एयरपोर्टको वरिपरि करिब १५ सय ३६ मिटर लामो घेराबार लगाइने भीमदत्त नगरपालिकाका योजना अनुगमन तथा तथ्याङ्क शाखा प्रमुख हिमालयसिंह ऐरले बताए ।

एयरपोर्टको घेराबारको निर्माण कार्यको ठेक्का पदम कन्ट्रक्सनले पाएको छ । ४९ लाखमा आगामी वैशाखभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ । पदम कन्ट्रक्सन कम्पनीले एयरपोर्टको घेराबारको काम यसै फागुनभित्र सम्पन्न गरिसक्ने बताएको छ । पदम कन्ट्रक्सनका प्रमुख पदमराज भट्टका अनुसार विमानस्थलको घेराबारको काम यसै फागुनभित्र सकिनेछ । ‘हामीले काम सुरु गरिसकेका छौँ, एक हप्तादेखि काम गरिहेका छौँ, पहिले केही जालीको सामान आउन बाँकी थियो, अब सबै समान आइसकेको छ’ उनले भने –‘अब काम तीव्ररूपमा भइरहेको छ, चाँडै यसै महिनाभित्र सक्ने लक्ष्य छ यदि एयरपोर्टको छेउमा रहेको विवाद चाँडै समाधान भएमा यसै महिनाभित्र काम सम्पन्न गर्छौँ ’ । हाल कम्पनीले घेरावारको लागि माटो निकालिसकेको छ । यसका साथै माटो निकालेको ठाउँमा सिमेन्टसहित तारजालीका लागि पोल तथा खम्बा ठड्याउने काम गरिहेको छ ।

यस्तै विगत लामो समयदेखि मझगाउँँ एयपोर्ट सञ्चालनप्रति स्थानीय सरकार र सांसदहरूले तदारुकता देखाएको भन्दै स्थानीयले खुसी प्रकट गरेका छन् । मझगाउँँ एयरपोर्ट सञ्चालनका लागि संघर्ष समिति गठन गरी विभिन्न प्रकारका अभियान समेत सञ्चालन हुँदै आएको छ । विमानस्थल सञ्चालन संघर्ष समितिले गत असोजमा विमानस्थल सञ्चालनका लागि खर्च उठाउन एयरपोर्टमै १० दिने महायज्ञसमेत सञ्चालन गरेको थियो । साथै केही समयअघि कन्चनपुर आएका पर्यटन मन्त्री योगश भट्टराईले उक्त विमानस्थल सञ्चालन गर्न सरकारले तयारी थाल्ने बताएका थिए ।

विमानस्थल सञ्चालन संघर्ष समितिका सह–संयोजक तिलक भट्टले आफूहरूले चालेको कामले सफलता पाउने र एयरपोर्ट सञ्चालन हुने आशा जागेको बताए । उनले भने ‘एयरपोर्टको घेराबार लगाउने काम सुरु भएको छ, खुशी लागेको छ, एयरपोर्ट सञ्चालन हुने आशा पलाएको छ, ढिलोचाँडो सञ्चालन भई यस क्षेत्रका जनताले सेवा पाउनेमा विश्वास लागेको छ र शुक्लाफाँटामा समेत पर्यटन बढ्ने आशा जागेको छ ।’

यस्तै एयरपोर्ट छेउमै व्यापार व्यवसाय गरिरहेका व्यापारी मोहनदेव भट्टले खुसी प्रकट गर्दै एयरपोर्ट चाँडै चल्नुपर्नेमा जोड दिए । ‘एयरपोर्ट चाँडै चल्नु पर्छ, यसको नजिकै पर्यटकीयस्थल शुकलाफाँटा र झोलुङ्गे पुल छन्, सरकाले यस एयरपोर्टलाई हेर्नुपर्दछ । गौचरनमा परिणत भइरहेको एयरपोर्टलाई सञ्चालन गर्नु पर्दछ’ उनले भने –‘नगरपालिकाले तारबार गर्न लागेको छ यस्तै प्रदेश सरकार र केन्द्र सरकारले पनि काम गरोस् ।’ हाल मझगाउँ विमानस्थल बन्द रहँदा यस क्षेत्रका बासिन्दहरूले आपतकालीन काम पर्दा संघीय राजधानी पुग्न धनगढी एयरपोर्ट पुग्नुपर्ने बाध्यता छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया