पर्वत । पर्वतमा करोडौँ रूपैयाँका ग्रामीण सडक अधुरै छन् । ठेक्का स्वीकृत भएर पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन । संघ र प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन गरेको हो । समयमै सडक निर्माण नहुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । गत मंसिरमै सक्ने गरी १० किलोमिटर लामो जलजला गाउँपालिकास्थित मिलनचोक–धाइरिङ सडकको ठेक्का लाग्यो । यसको लागत २६ करोड रूपैयाँ छ । हिन्दु एन्ड थोकर जेभीले ठेक्का लिएको सडक समयमै बन्न नसकेपछि पूर्वाधार विकास कार्यालयले एक वर्ष म्याद थपेको छ । आगामी मंसिरमा सडक सम्पन्न हुनुपर्नेछ । तर सडक कालोपत्र त परको कुरा, कामको सुरुआतसम्म भएको छैन ।
यस्तै कुश्मा र फलेबास नगरपालिका जोड्ने १० किलोमिटर लामो दोबिल्ला–फलेबास सडक पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । उक्त सडक आउँदो असोजमा सम्पन्न गर्नुपर्नेछ । उक्त सडकको लागत २३ करोड रूपैयाँ छ । फेवा प्यासिफिक जेभीले पाएको उक्त सडकको केही भाग कालोपत्र भए पनि ठेकेदार सम्पर्कविहीन छन् । जिल्लाका सबैजसो सडक आयोजना अधुरै छन् । उपभोक्ता समितिमार्फत हुने स–साना आयोजना पनि चालू आर्थिक वर्षभित्र सम्पन्न हुने अवस्था छैन । ओमबुद्ध निर्माण कम्पनीले ठेक्का पाएको लत्तु–मिलनचोक–बालाकोट (पाँच किमी) सडक पनि अधुरै छ । ग्याबिन जाली भर्ने र नाली बनाउने काम मात्र सकिएको छ । ११ करोड रूपैयाँको सो काम आगामी मंसिरमा सकिनुपर्नेछ । हालसम्म ५० प्रतिशत पनि काम भएको छैन । यसैगरी पैंयु गाउँपालिकाको चिसापानी–हुवास–पोखराचौर–खहरेखोला सडक (आठ किमी) को काम ३० प्रतिशत मात्रै भएको छ । ओमबुद्ध कमलजित जेभीले ठेक्का पाएको १६ करोड रूपैयाँ लागतको उक्त सडकको काम समयमै सकिने छाँटकाँट छैन ।
ठेक्का सम्झौता भएर पनि समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई नियामक निकायले कारबाही गर्नुको सट्टा म्याद थपेर प्रोत्साहन गर्ने गरेको आरोप छ । उपभोक्ता समिति, दबाबसमूह, लाभग्राहीलगायतले कारबाहीको दायरामा ल्याउन नसक्दा ठेक्का ओगट्ने तर काम नगर्ने प्रवृत्ति बढेको छ । उनीहरूले पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धिलाई दोष दिने गरेका छन् । व्यवसायी अच्युतकृष्ण श्रेष्ठका अनुसार गत वर्षको तुलनामा फलामे डन्डीको मूल्य ३० प्रतिशतभन्दा बढी बढेको छ । उनले भने, ‘रडको मूल्य डेढ गुणा बढेको छ, प्राविधिकले अघिल्लो वर्षकै मूल्य राखेर स्टिमेट गर्छन्, अनि काम गर्न समस्या हुन्छ ।’ पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले लागत बढेर काम गर्न नसकेको भन्नु बहाना मात्रै भएको बताए । व्यवसायीले समयमा काम नसकेकै कारण कार्यालयको चालू वर्षको पुँजीगत खर्च ५० प्रतिशत पनि नपुगेको उनको भनाइ छ ।
कार्यालयका अनुसार चालू आवमा सडक, पुललगायतका लागि ६५ करोड रूपैयाँ हाराहारी बजेट रहेकामा असार पहिलो सातासम्म ३० करोड रूपैयाँ मात्रै खर्च भएको छ । ‘यही गतिमा काम भए यो महिनाभरि १० करोड रूपैयाँ मात्रै निकासा हुने देखिन्छ’, कार्यालयकी लेखापाल लीला गौतमले भनिन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
- थप ४३ क्यानेडियाली रुसको कालोसूचीमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया