Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदेशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न माग

देशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न माग


काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका सबै स्थानीय तहमा औधोगिक ग्राम स्थापना गर्न माग गरेको छ । महासंघले राजधानीमा आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठक एवं ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरूले देशको अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मुलुकभित्र उद्योग व्यवसायलाई प्रोत्साहन गर्न भन्सार नाकामा उद्योगी व्यवसायीलाई सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताए । उद्योगका लागि चाहिने आवश्यक जनशक्ति निर्माण गर्न तालिम केन्द्रहरू स्थापना गर्नुपर्नेमा उनले जोड दिए । महासंघले कच्चा पदार्थको परनिर्भरता हटाउनका लागि राज्यस्तरबाट खोज–अनुसन्धान गर्नुपर्ने, वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने, फुटपाथको सही व्यवस्थापन गर्नुपर्ने, उद्योग व्यवसायको क्षमता र प्रकृति हेरेर उद्योगी व्यवसायीका लागि विनाधितो ऋणको व्यवस्था गर्नुपर्ने, रुग्ण रहेका उद्योग सञ्चालनमा ल्याउन निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने बताएको छ ।

यस्तै साना तथा मझौला उद्योगी व्यवसायलाई नीति निर्माण तहमा सहज पहुँच बनाउनुपर्ने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार बनाउन विशेष नीति लिनुपर्ने, स्थानीय तहमा उत्पादित वस्तुको व्यवस्थापनका लागि आवश्यक पहलकदमी लिनुपर्ने, निजी क्षेत्रलाई असर गर्ने जुनसुकै निर्णय लिँदा निजी क्षेत्रसँग परामर्श लिनुपर्ने महासंघले माग राखेको छ ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने बताए । उनले स्थानीय तहको पाठ्यक्रममा उद्योग व्यवसायमैत्री पाठ्यक्रम निर्माण गरी लागू गर्नुपर्नेमा पनि जोड दिए । महासंघका सल्लाहकार एवं सुनकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले स्थानीय तहले व्यवसायमैत्री कानुन निर्माण गरी लागू गर्नुपर्ने बताए । विसं २०७३ मा स्थापना भएको महासंघमा हाल देशभरका २३ संघका १० हजारभन्दा बढी उद्योगी/व्यवसायी आबद्ध छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया