Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैतेश्वर गाउँपालिकाले पूर्वाधार विकास र कृषिमा जोड दिने

बैतेश्वर गाउँपालिकाले पूर्वाधार विकास र कृषिमा जोड दिने


काठमाडौं । जिल्लाको बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास र कृषि उत्पादनमा जोड दिने गरी बजेट ल्याएको छ । गाउँपालिकाले आगामी वर्ष २०७९/०८० को लागि ५५ करोड चार लाख ३० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाको भौतिक पूर्वाधार विकासमा जोड दिने गरी बजेट ल्याइएको गाउँपालिका अध्यक्ष छबि लामाले जानकारी दिए ।

गाउँपालिकाले सडक तथा पूर्वाधार विकासको लागि १० करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । सो रकमले मुख्य गरी स्थानीय सडक कालोपत्रे गर्ने पालिकाले जनाएको छ । पालिकाले आगामी वर्षभित्र नाम्दुदेखी पाँडुडाँडासम्मको सडक कालोपत्रे गर्ने भएको हो । त्यस्तै २०७४ पछि कालोपत्रे गर्न सुरु गरिएका सडकको कालोपत्रेलाई पनि निरन्तरता दिइने अध्यक्ष लामाले बताए ।

गाउँपालिकाले गत शनिबार गाउँसभामा बजेट प्रस्तुत गरेको थियो । सभामा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले विभिन्न छ शीर्षकको बजेट प्रस्तुत गरेकी थिइन् । पालिकाले आगामी वर्षको लागि सामाजिक तथा सुशासन विकासतर्फ सात करोड ३६ लाख ३० हजार, आर्थिक विकासतर्फ चार करोड ६२ लाख लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ सात करोड ८० लाख, वातावरण तथा विपद् व्यवस्थापनको लागि एक करोड ४९ लाख १६ हजार रूपैयाँ बजेट छुट्याएको छ ।

यस्तै गाउँपालिकाले पालिकाभित्रका बालविकास सहयोगी शिक्षकलाई प्रोत्साहन भत्ता र पोशाक उपलब्ध गराउने भएको छ । साथै सबै वडा कार्यालयको सुरक्षाको लागि घेराबार लगाउने, स्वास्थ्य संस्थालाई थप व्यवस्थित र स्तरोन्नति गर्ने, सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको विकास गर्ने, सार्वजनिक स्थलहरूमा धुम्रपान र मध्यपान सेवन गर्न निरुत्साहित गर्ने, स्वास्थ बीमा कार्यक्रममा सबै नागरिकहरूलाई आबद्ध गराउने भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया