Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रिय धान दिवस : दोलखामा ५१ प्रतिशत रोपाइँ सकियो

राष्ट्रिय धान दिवस : दोलखामा ५१ प्रतिशत रोपाइँ सकियो


दोलखा । जिल्लामा यस वर्ष असार १५ अर्थात् राष्ट्रिय धान दिवसको दिनसम्म ५१ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै धान रोपाइँ सकिएको हो । असार लाग्नुअघि नै मनसुन सुरु भएकाले यस वर्ष असारको दोस्रो साता बित्दा नै आधाभन्दा धेरै खेतमा रोपाइँ सकिएको जिल्ला कृषि ज्ञानकेन्द्र रामेछापको शाखा कार्यालय दोलखाले जनाएको छ  ।

कृषि ज्ञानकेन्द्र दोलखा शाखाका कृषि अधिकृत नन्दराज वलीका अनुसार जिल्लामा तीन हजार दुई हेक्टर क्षेत्रफल जमिनमा धानखेती हुँदै आएको छ । जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर, मेलुङ र तामाकोशी गाउँपालिकामा धेरै धानखेती हुनेगरेको छ । मेलुङ गाउँपालिकामा मंगलबारसम्म ६० प्रतिशत धान रोपाइँ सकिएको छ । त्यस्तै जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रमा ५७ प्रतिशत रोपाइँ सकिएको छ भने बैतेश्वर गाउँपालिकामा ४६ प्रतिशत रोपाइँ सकिएको कृषि अधिकृत वलीले जानकारी दिए ।

त्यस्तै कालिञ्चोक गाउँपालिकामा ४५ प्रतिशत रोपाइँ सकिएको छ । यसैगरी गौरीशंकर गाउँपालिकामा २५ प्रतिशत रोपाइँ सकिएको छ । माथिल्लो क्षेत्रमा रहेका तीन पालिकाहरू शैलुङ गाउँपालिका, जिरी नगरपालिका र बिगु गाउँपालिकामा भने हालसम्म करिब १५ प्रतिशत मात्रै धान रोपाइँ सकिएको अधिकृत वलीको भनाइ छ । कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा धेरैजसो स्थानीय जातको धान लगाउने गरिएको छ । केही बेँसीहरूमा पछिल्लो समय बजारमा निस्केको हाइब्रेड जातको धान लगाइए पनि धेरैजसो किसानले स्थानीय जातको धान रोप्नेगरेका छन् ।

ज्ञानकेन्द्रका अनुसार जिल्लाका किसानले मार्सी, खुमल–४, खुमल–६, खुमल–८, खुमल–१०, पोख्रेली, खुमल–७८, झिगमली, एक्ले, राम्सली, घैयाधानलगायतका स्थानीय तथा विकासे जातको धान लगाउँदै आएका छन् । यता जिल्लाको बैतेश्वर गाउँपालिका–४ मा रहेको पहाडी बाली अनुसन्धान कार्यक्रमले यस वर्ष एक हजार सात सय केजी खुमल–४ धानको बीउ र एक हजार नौ सय केजी खुमल–१० दुई जातको धानको बीउ उत्पादन गरी किसानलाई वितरण गरेको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रेका संयोजक बन्धुराज बरालले जानकारी दिए । पहाडी बालीले यसवर्ष पनि विभिन्न १० वटा विकासे जातको धानको नयाँ बीउ उत्पादन र परीक्षणकोे लागि असार १५ गते धान रोप्न लागेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया